चन्द्र भण्डारीले भावुक भएर भनेः आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएँ

आगोमा जलेर घाईते भई उपचार गरेर तीन महिनापछि संसदमा उपस्थित भएका कांग्रेस सांसद चन्द्र भण्डारीले आमा वितेको दुई महिनापछि मात्रै जानकारी पाएको वताए।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएपछि आफुलाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओली सभामुखको कार्यकक्षमा पुगेका बेला उनले यस्तो वताएका हुन। उनले भने– ‘मैले आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएँ।’
भेटका क्रममा अध्यक्ष ओलीले उनको स्वास्थ्य अवस्था बुझे। ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो। निको भएर आएपछि भेट भयो। खुसी लागेको छ।’ ओलीले भने।
सांसद भण्डारीले आफ्नो स्वास्थ्य लाभका लागि ओलीले गरेको कामना थाहा पाएको भन्दै धन्यवाद दिए। ‘गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो। थ्याङ्क यू सो मच।’
भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरु गर्न ध्यानाकर्षण गराए। सभामुख देवराज घिमिरेले एक साताअघि निवासमै गएर भण्डारीसँग भेट गरेका थिए। भण्डारीको इच्छाअनुसार नीति तथा कार्यक्रममा बोल्न विशेष समयको व्यवस्था समेत मिलाएका हुन्।