हिरासतबाट खाणलाई पाण्डेको पत्रः बयानमा मन्त्री र सचिवसँग लेनदेन नभएको लेखाउनुहोला
खाणले च्यातेको पत्र प्रहरीले टेप टाँसेर जोगायो, नरेन्द्र केसी हल्कारा

नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख २० गते पक्राउ परेका तत्कालिन गृहसचिव टेकनारायण पाण्डेले हिरासतमा हुँदा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पत्र लेखेर घट्नालाई कसरी मथ्थर पार्ने भन्ने सल्लाह दिएको पाईएको छ।
प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहँदा बयान दिनुअघि पाण्डेले खाणलाई तीन वटा पत्र पठाएको र ति मध्ये दुई वटा पत्र अहिले प्रहरीसँग सुरक्षित रहेको जनाईएको छ। पाण्डेले पठाएका पत्र खाण र केसी पक्राउ पर्दा गत २७ वैशाखमा वरामद भएका हुन।
दुईमध्ये एक पत्र खाणले प्रहरीको हातबाट खोसेर च्यातिदिएका थिए। त्यसलाई टेपले टाँसेर प्रहरीले सुरक्षित बनाएको छ । दोस्रो पत्र खाणका पीए नरेन्द्र केसीबाट बरामद भएको हो । उनको घरबाट बरामद भएको अर्काे एक कागज भने खाणले च्यातेर चपाइदिएको प्रहरी स्रोतको भनाई छ।
दुवै पत्र पीए नरेन्द्र केसीमार्फत खाणले पत्र हात पारेका हुन। पाण्डेले लेखेको पहिलो पत्रमा बिचौलियाको बयान फेराउन आग्रह गरिएको छ। ‘दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउनुपर्छ, नभए मन्त्रीज्यू समेतको मुद्दा जान सक्छ’ पत्रमा भनिएको छ–‘अदालतमा गएर इन्कारी बयान दिएर हुँदैन । मन्त्रालयमा मन्त्री, सचिव र अन्य कसैसँग लेनदेन नभएको विषय बयानमा लेखाउनुहोला।’
दास्रो पत्रमा भने मुख्य आरोपीलाई मात्रै पक्राउ गरेर अरुलाई जोगाउने हो भने मुद्दा सहज रुपमा अगाडि नजाले सुझाव दिईएको छ। ‘नरेन्द्रजी ओली बा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीका मुख्य प्रतिवादीहरूलाई मात्र मुद्दा दायर गर्ने र थप आरोपित व्यक्तिहरूलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रूप नलिन सक्छ’ पत्रमा भनिएको छ ।
ती पत्र प्रहरीले फरेन्सिक ल्यावमा पनि जाँच गराएको छ। ल्यावले पाण्डेले नै लेखेको पुष्टि गर्दै प्रतिवेदन दिएको प्रहरी स्रोत बताउँछ। बयानका क्रममा भने दुई जनाबीच पोल खोलाखोल भएको छ।
खाणले सबै विषय कर्मचारीले तयार गर्ने भएकाले त्यस्तो प्रक्रियामा मन्त्रीको सहभागिता नरहेको भन्दै सवै जिम्मा पाण्डेको टाउनकोमा खन्याएका थिए। उनले सचिवस्तरबाट निर्णय भई आएका फाइल सदर गरेको र आफू कर्मचारीमाथि पूर्ण रूपमा विश्वस्त बनेको दाबी गरे।
सचिव पाण्डेले भने मन्त्रीकै निर्देशनमा सबै काम गरेको बताएका थिए। प्रहरीले सचिव पाण्डेको मोबाइलमा मेटिएका समाग्री ‘रिकभर’ गरेर ल्याएपछि मात्रै पाण्डेले खाणकै निर्देशनमा आफूले सबै काम गरेको स्वीकार गरेका थिए।
भुटानी शरणार्थी