रविलाई महासेठको जवाफः आफु जोगिन म्याउँ–म्याउँ गर्दै बालुटार धाएको होईन ?

नेकपा एमालेका सचिव तथा सांसद रघुवीर महासेठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘तपाई आफू जोगिनका लागि राति राति बालुवाटार धाएर म्याउँम्याउँ गरेको होईन ?’ भन्दै प्रश्न गरेका छन्।
संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महासेठले यस्तो प्रश्न गरेका हुन। यसअघि संसदमा बोलेका रविले तीन दल मिलेर नक्कली भुटानी शरणार्थी प्रकरण मिलाउन खोजेको आरोप लगाएका थिए।
‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्नुहोला। तीन पार्टी (कांग्रेस, एमाले र माओवादी) बसेर तपाईँहरूले खासखुस गर्नुभयो। त्यसको गन्ध संसदसम्म ठासठुस आयो। देशभरि त्यसको गन्ध गयो। त्यसलाई रोक्नुस्।’– उनले भनेका थिए।
त्यसको जवाफ दिदै सचिव महासेठले नयाँ नयाँ साधु सन्तले धेरै खरानी धसेको बताए । ‘नयाँ नयाँ साधु सन्तले निधारमा धेरै खरानी दल्ने गरेको छ । त्यो दलेर केही फाइदा हुँदैन,’ उनले भने, ‘भुटानी शरणार्थीको छानबिन भइरहेको छ । तीन पार्टीले बालुवाटारमा बसेर मिलाउने छलफल गर्दैछ । तर, को तीन पार्टी बोल्नु भएन । भन्न चाहन्छु यस्ता साथीहरू तीन पार्टी मात्र होइन । रातिको समयमा आफू बच्नका लागि रातिको समयमा बालुवाटर गएर म्याम्याउ गर्नुभएको छ । त्यो पनि बुझेका छौँ ।’
तीन पार्टीलाई दोष देखाएर कोही निर्दोष नहुने महासेठको भनाइ छ । ‘अरुको आलोचना गरेर आफू स्थापित हुन्छु नसोचे हुन्छ,’ उनले भने ।
लामिछाने विरुद्धको राहदानी दुरुपयोगको मुद्दा राजनीतिक लेनदेनमा मिलाईएको विषयलाई उनले संकेत गरेका हुन। रविलेि प्रधानमन्त्री पुष्पकमल दाहालसँग हारगुहार गरेपछि महान्यायाधिवक्ता दीनमणि पोखरेलले गत चैतमा उनको मुद्दा नचलाउने निर्णय गरेका थिए।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र उच्च सरकारी वकिल कार्यालयको निर्णयमा टेक्दै पोखरेलले यस्तो निर्णय गरेका हुन। भोली पल्ट संसदमा विश्वासको मत लिन तयार परेका दाहाललाई लामिछानेले सोही आडमा वार्गेनिङ गरेको खुलेको थियो।
सवैतिरको मिलेमतोमा यो प्रकरण मिलाईएको थियो। प्रहरी, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि लामिछानेविरूद्ध अमेरिकी नागरिक छँदा निष्क्रिय नेपाली नागरिकता प्रयोग गरेर राहदानी निकालेको विषयमा मुद्दा नचलाउने रायसहितको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालय पठाएका थिए।
यो पनि,
- महान्यायाधिवक्ताको निर्णय वदर गरी रवि विरुद्ध चल्न सक्छ मुद्दा
- राजनीतिक लेनदेनमा रवि लामिछाने विरुद्ध मुद्दा नचलाई फाइल बन्द
- रवि लामिछाने विरुद्ध मुद्दा नलाग्ने निर्णय गराउन प्रधानमन्त्री प्रचण्डलाई दवाव