News

नक्कली शरणार्थी प्रकरणले अमेरिका र चीनबीच सुरक्षाको चुनौती आउन सक्छः एनडीयु

नक्कली शरणार्थी प्रकरणले अमेरिका र चीनबीच सुरक्षाको चुनौती आउन सक्छः एनडीयु

नेपाल डेमोक्रेट युनियन (एनडीयु)ले भुटानी शरणार्थी प्रकरणलाई सत्ताको नेतृत्व तहमा रहेका दलाल नेताका कारण शक्ति राष्ट्रहरु अमेरिका र चीनबीचको सम्वन्धमा समस्या आउन सक्ने र त्यसका असर नेपालले भोग्नु पर्ने चेतावनी दिएको छ।

युनियनका प्रसिडेन्ट सिद्धार्थ गौतमले एक विज्ञप्ति जारी गर्दै दलालहरुले नेपालीलाई भुटानी बनाएर पठाएजस्तै चीनियाँ नागरिकलाई पनि शरणार्थी बनाएर अमेरिका पठाएको हुन सक्ने आशंका गर्दै यस्तो यसले दुई देशबीच सुरक्षा चुनौती वढ्न सक्ने र त्यसको भागिदार नेपाल पनि हुनु पर्ने चेतावनी दिएका छन्।

‘यो काण्ड ठगी, जालसाजी, किर्ते, लुट र मानव बेचबिखनको संगठित अपराध मात्र नभएर नागरिक विरुद्धको, मानवताविरुद्धको र राज्यविरुद्धको अक्षम्य अपराध समेत हो। यतिमात्र नभएर यो नेपालप्रति सद्भाव राख्ने अमेरिका जस्तो प्रजातान्त्रिक मित्रराष्ट्रहरु, संयुक्त राष्ट्रसंघप्रतिको धोखा र विश्वासघात हो जसले प्रजातान्त्रिक विश्वमा नेपालको छवि, साख र विश्वसनीयतामा आघात पारेको छ’ विज्ञप्तिमा भनिएको छ–‘यस गम्भिर षडयन्त्रमा चिनियाँ कम्युनिष्ट पार्टी÷एमएसएसले पनि चिनियाँ नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँदै आइरहेको आशंका समेत गरिएको छ।’

यदि यस्तो सत्य हो भने अमेरिकाको सुरक्षालाई पनि खतरा पुग्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ–‘नक्कली भुटानी शरणार्थी काण्ड नेपालको राजनीतिक नेतृत्वको पतनको निकृष्ट उदाहरण हो! आफ्नै नागरिकलाई अनागरिक बनाउने, उनीहरूसँग अवैध रकम उठाउने र किर्ते कागजात खडा गरेर उनीहरुलाई शरणार्थी बनाइ विदेश लखेट्ने यस काण्डमा देशको उच्च प्रशासनिक तह मात्र होइन एकपछि अर्को मन्त्री परिषद्का बरिष्ठ सदस्यहरूसमेत प्रत्यक्ष रुपमा संलग्न देखिएका छन!’

वर्षौंदेखिको यस प्रकारको राष्ट्रिय तथा अन्तराष्ट्रिय गम्भीर षड्यन्त्र हुँदा पनि सीआईए, रअ, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायत के हेरेर बसिरहेका थिए? भन्दै प्रश्न प्रश्न उठाएको युनियनले यस्तो अपराधिक कार्यको व्यापक एवम् निर्मम छानबिन गरी कुनै पनि पद र तहका अपराधीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ।

नेपाल र नेपाली विरुद्ध यस्तो जघन्य अपराध गर्नेहरुमाथि निर्मम कारवाही नगरिने हो भने अपराधीका मतियार उच्च राजनीतिक नेतृत्व समेत जनआक्रोशको सिकार हुनुपर्ने र उनीहरूको राजनीति र संगठन समेतलाई माटोमा मिलाउने चेतावनी समेत युनियनले दिएको छ। 

विशेष