News

मन्त्री बादल र गृह सचिवलाई देखाएर इन्द्रजितले ५ करोड असुलेको खुलासा

मन्त्री बादल र गृह सचिवलाई देखाएर इन्द्रजितले ५ करोड असुलेको खुलासा

भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले गृहसचिव देखि गृहमन्त्रीसम्म मिलाउनु पर्छ भन्दै ५ करोड रुपैयाँ असुलेको खुलेको छ।

राईले त्यसबेला पटक–पटक गरेर ५ करोड रुपैयाँभन्दा बढी लिएको खुलेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले खुलासा गरेका छन्। ‘उनले तत्कालीन गृहसचिव र गृहमन्त्रीसम्म मिलाउने भनेका छन। अन्य व्यक्तिको संलग्नताबारे उहाँको बयानपछि र थप अनुसन्धानपछि स्पष्ट हुन्छ।’– ति अधिकारीले भने।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री मण्डलमा बादल २०७४ फागुन १४ गतेदेखि २०७८ जेठ ६ गतेसम्म गृहमन्त्री थिए । सोही समयमा बादलका सुरक्षा सल्लाहकार रहेका राईले गिरहसँग मिलेर अनुचित लाभ लिएको पाईएको छ।

उनी पक्राउ परेपछि बादल र तत्कालिन गृहसचिव प्रेमकुमार राई तथा महेश्वर न्यौपानेसमेत समस्यामा पर्न सक्ने जानकारुले वताएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा १२ चैतमा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए ।

दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्र मन्त्री भएका बेला उनको सचिवालयमा कार्यरत थिए । प्रहरीका अनुसार दुलाल र भण्डारीको पूर्वगृहमन्त्री बादलका सल्लाहकार राईसँग सम्बन्ध थियो । राई मंगलबार बिहान ललितपुरबाट पक्राउ परेका हुन् ।

सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि २०७६ वैशाखमा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । त्यसको प्रतिवेदनको अनुसूचिमा नाम थपेर अमेरिका पठाइदिने भन्दै यो गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङ लगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

कार्यदलको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन । तर, नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै असुली गरिएकोबारे २०७८ सालको मंसिरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । 

अख्तियारलाई बुझाएको निवेदनमा २०७६ असोज २ देखि फागुन २६ गतेसम्म तत्कालीन सुरक्षा सल्लाहकार राईले ५ करोड रुपैयाँभन्दा बढी बुझाएको भनिएको थियो । 
 

रामबहादुर थापा बादल इन्द्रजित राई भुटानी शरणार्थी

विशेष