युवराज सफलको ‘मुद्दाको उद्योग’ले इरिटेड भए रवि लामिछाने
भन्छन्– घन्टीलाई बजाउन मात्र होइन, घन्टीले बजाउन पनि मिल्छ
एकपछि अर्को मुद्दाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) सभापति एवम् सांसद रवि लामिछानेले इरिटेड भएका छन्। सर्वोच्च अदालतले सफाइ दिएको विषयलाई पुनः मुद्दा हालेर आफूलाई ‘इरिटेट’ गरेको उनले सामाजिक सञ्जालमा लेखेका छन्।
लामिछानेले नेपाली नागरिकता लिँदा प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन योग्य नएको भन्दै बुधवार मात्रै सर्वोच्चमा मुद्दा दायर भएको छ। सर्वोच्च प्रशासनले दरपिठ गरेको युवराज पौडेल सफलको निवेदनलाई न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले दर्ता गरी अगाडि वढाउन आदेश गरेको हो।
यही विषयलाई लक्षित गरेर लामिछानेले आज फेसबुकमार्फत आक्रोश पोखेका छन्।
‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ,’ उनले लेखेका छन्, ‘घन्टीलाई बजाउन मात्र होइन, घन्टीले बजाउन पनि मिल्छ।’
युवराज पौडेलको निवेदनका आधारमा सर्वोच्चले २७ वैशाखमा लामिछानेसँग अमेरिकी राहदानी त्यागेको प्रमाण पेस गर्न आदेश दिएको थियो। लामिछानेविरुद्ध सर्वाेच्चमा महान्यायाधिवक्ता कार्यालयको राहदानी कीर्तेमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिट विचाराधीन छ। यो विषय बुधबार संसदमा समेत उठेको थियो।
‘सर्वोच्च अदालतको मिती २०७९÷१०÷१३ को फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको छ।’ उनले भनेका छन्–‘अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।’
अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा आफैसँग भएकाले मिति २०८०÷०२÷०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको पनि उनले जनाएका छन्। ‘यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५÷०३÷०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिए। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिए।’ उनले भनेका छन्।
रवि लामिछाने