News

‘सीमान्त गुरु’को ज्योतिष केन्द्र बन्द गराउँदै तारकेश्वर नगरपालिका

१० वर्ष जनयुद्ध गरेका भट्टराईलाई कसरी आयो अलौकिक शक्ति र हेरेरै क्यान्सर ठिक पार्ने दावी

‘सीमान्त गुरु’को ज्योतिष केन्द्र बन्द गराउँदै तारकेश्वर नगरपालिका

आँखामा हेरेर जस्तोसुकै रोग निको पार्ने भन्दै उपचारको नाममा ठगी धन्दा चलाउँदै आएका ‘सीमान्त गुरु’ भनिने ४३ वर्षीय भरत भट्टराईको ‘अलौकिक मनोवैज्ञानिक सास्ती ज्योतिषी प्राली’ बन्द गराउन तारकेश्वर नगरपालिकाले पहल थालेको छ।

वडा नम्बर ७ स्थित ‘ज्योतिष केन्द्र’मा ठगी धन्दा चलाएको गुनासो आएपछि त्यसलाई बन्द गराउन पहल थालेको नगरपालिकाले जनाएको छ। ‘यही वडामा उनीजस्तै माता गुरुजस्ता नाममा अरु ठगी कार्य पनि भइरहेको सुनियो’ वडा सचिव हरिकृष्ण अर्यालले भने–‘हामीले प्रहरी र स्थानीयको सहयोगमा उनको व्यवसाय बन्द गर्न पहल गरिरहेका छौँ।’

सामाजिक सञ्जालमा सिमान्त गुरु नामले चर्चित भट्टराईले दुई साताअघि मात्र तारकेश्वरमा आफ्नो कार्यालय सारेका थिए । त्यसअघि उनको कार्यालय कोटेश्वरमा थियो । भट्टराई श्रीमती, दुई छोराछोरी र करिब एक दर्जन भोलेन्टियरसहित तारकेश्वरमा बस्दै आएका छन् । उनले आफूलाई अलौकिक शक्ति प्राप्त भएको दावी गर्दै आएका छन् ।

आफुलाई १७ भाषाको ज्ञाता बनाउने भट्टराई ७ वर्ष पत्रकारिता र १० वर्ष सशस्त्र युद्द गरेको दावी गर्छन।

यसअघि स्थानीयसँग पैसा लिएर उपचार गर्ने भन्दै तुलसीपुर उपमहानगर वडा नम्बर ६ स्थित त्रिशिद्धेश्वरी मन्दिर पुगेका भट्टराईलाई जिल्ला प्रशासनले कार्यक्रम गर्न रोक लगाएको थियो । भट्टराईलाई तुलसीपुरकै उद्योगीको टिमले त्यहाँ पुर्याएको थियो ।

जेठ ७ गते आइतबार उक्त मन्दिरमा दाङबासीलाई भेट्ने कार्यक्रम राखेकोमा उनलाई भेट्न हजारौँ स्थानीयको भीड लागे पनि केही स्थानीयले भने उनको विरोध गरेपछि कार्यक्रम नगरी उनलाई भगाइएको थियो । 

जेठ १२ गते काठमाडौं फर्किने योजना बनाएर दाङ गएका भट्टराई त्यहाँबाट लखेटिएपछि काठमाडौं फर्किएका छन्। तर, उनी कहाँ छन् भन्ने खुलेको छैन। 

दुई महिनाअघि उनले पोखरामा पनि शिविर सञ्चालन गरेका थिए । पोखरा विमानस्थलको भिआइपी कक्ष प्रयोग गरेर शिविरमा पुगेका भट्टराई त्यहाँ पनि विवादमा परेका थिए। उनको शिविरमा स्थानीय प्रशासनले हस्तक्षेप गरी सेवाग्राहीबाट १÷१ हजारका दरले उठाइएको १ लाख २४ हजार रुपैयाँ जफत गरेको थियो।

भट्टराईले टिकटक लाइभ र भिडियो कलमार्फत् सर्वसाधारणलाई रोग निको हुने भन्दै भ्रम फैलाउने गरेका छन। क्यान्सर, प्यारालाइसीसदेखि थाइराइड, पायल्सदेखी नसा च्यापिएका, बोल्न नसक्ने र हिँड्न नसक्ने व्यक्तिलाई समेत छोएर मात्र होइन, हेरेको भरमा पनि निको बनाउन सक्ने उनको दावी छ। 

उनका सहयोगीले केही दिनपछि सवै थोक ब्यवस्थापन गरेर तारकेश्वरमा विरामी बोलाईने वताएका छन्। 
 

सीमान्त गुरु

विशेष