News

रेशम चौधरीलाई आममाफी दिन लागेपछि राष्ट्रपति कार्यालयमा पीडित परिवारको भावुक पत्र

राजनीतिको खास्टो ओढाएर अपराधीलाई माफी मिनाहा गरी राजनीतिलाई अपराधीकरण नगरियोस

रेशम चौधरीलाई आममाफी दिन लागेपछि राष्ट्रपति कार्यालयमा पीडित परिवारको भावुक पत्र

टिकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई सरकारले आममाफी दिन लागेपछि त्यो निर्णय कार्यान्वयनमा नल्याउन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन परेको छ। टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले निवेदन दर्ता गराएकी हुन्।

सर्वोच्च अदालतले समेत जन्म कैदको फैसला गरेका चौधरीलाई आममाफी दिने निर्णय कार्यान्वयन नगर्न निवेदनमा माग गरिएको छ। सरकारले रेशमलाई जेठ १५ गते आमाफी दिने प्रक्रिया अगाडि बढाएको छ। कारागारबाट गृहमन्त्रालय हुँदै आममाफीका लागि राष्ट्रपति कार्यालयमा पत्र पुगेको छ।

चौधरीलाई जन्मकैद गर्ने जिल्ला अदालत र उच्च अदालतको फैसला सर्वोच्चले गत साता सदर गरेको थियो। फैसला सदर भएसँगै रेशमले अझै १४ वर्ष कैदमा बस्नु पर्ने छ। तर सरकारले आममाफी दिएर रेशमलाई छाड्ने गरी प्रक्रिया अगाडि बढाएपछि पीडितले त्यसलाई रोक्न माग गरेका हुन।

२०७२ भदौ ७ गते भएको टिकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नाबालकको हत्या भएको थियो। सोही मुद्दामा जिल्ला अदालत कैलाली उच्च अदालत दिपायल र सर्वोच्च अदालतले रेशमसहित संलग्नलाई जन्मकैदको फैसला गरेका थिए।

रेशम डिल्ली बजार कारागारमा कैद भुक्तान गरिरहेका छन्। भने उनकी श्रीमती सत्तामा छिन्। ‘सत्तामा मोज गरिरहेकी हत्यारा रेशमकी पत्नीको सिउँदोको मूल्य र कर्तव्यपरायण प्रहरी निरीक्षक केशब बोहरा लगायतका सिउँदो पुछिएर न्याय मागिरहेका विधवा पत्नीको सिउँदो बिचमा फरक छुट्टाउन नसक्ने नेतृत्वबाट आशाको दियो बल्ने छैन।’ निवेदकले लेखेकी छिन्–‘करोडौं जनता निराशाले छटपटीमा रहेको देशमा म जस्तो एकल महिलाले सरकारबाट न्यायको अपेक्षा गर्न असान्दर्भिक देख्छु। जे फैसला न्यायालयले गरेको छ त्यसमा मेरो न्याय देखेको छु तसर्थ, न्यायिक मन प्रयोग गर्ने न्यायधीशहरुको निर्भीकता र स्वतन्त्रताप्रति मात्रै भए पनि गौरव गर्छु।’

‘सिउँदो फुस्रै भए पनि न्यायालयले गरेको फैसलामा चित्त बुझाउने म र म जस्ता निरीहका लागि अब नेपाल देशको अभिभावक र संविधानका संरक्षक बाहेक गुन्जाएस् बाँकी कहीँ छैन। पीडामा परि निरीह भएका राज्यबाट अपहेलितका लागि रेशम चौधरीलाई आम माफीको छलफल मात्रै पनि घाउमा थप नुन चुक भएको छ’ उनले लेखेकी छिन्–‘तसर्थ तीन तहको अदालतले निरूपण गरिसकेको विषयलाई राजनीतिको खास्टो ओढाएर अपराधीलाई माफी मिनाहा प्रदान गरी राज्यको सबैभन्दा शक्तिशाली नीति राजनीतिलाई नै अपराधीकरण सँग मितेरी नगाँसियोस्।’

टिकापुर घटना रेशम चौधरी

विशेष