पशुपतिको जलहरीमा भ्रष्टाचार भएको विषय संसद प्रवेश गरेपछि एमालेले संसद चल्नै दिएन

माओवादी सांसदले पशुपति नाथको मन्दिरमा सुनको भनेर पित्तलको जलहरी लगाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेका सांसदले प्रतिनिधि सभामा अवरोध गरेका छन्।
दिउँसो पौने १ बजे २० मिनेटका लागि भनेर स्थगित भएको संसद बैठक ३ बजे बस्ने सूचना जारी भएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले बैठक ३ बजे बस्ने सूचना निकालेका हुन् । तर बैठक बस्नका लागि दलहरुबीच सहमति जुटेको छैन ।
माओवादीका सांसद राजन दाहालले जेठ १० गते पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको थियो ।
एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए । यसरी स्थगित भएको बैठक बिना सूचना २ घन्टा भित्र सुरु नभएमा स्वतः स्थगित हुने व्यवस्था छ ।
संसद बैठक स्थगित गरी सहमतिका लागि बसेको सर्वदलीय बैठक लम्बिएको छ । यता, माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उठाएको विषय भने यसअघि नै महालेखाले पनि उठाएको थियो । महालेखाको आर्थिक वर्ष २०७९ को वार्षिक प्रतिवेदनमा सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नभएको उल्लेख गरेको छ ।
‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि यो वर्ष नेपाल राष्ट्र बैङ्कबाट १०३ किलो ७७३ ग्राम सुन रू.८० करोड ११ हजारमा खरिद गरेको छ । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ । ‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ । रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन,’ प्रतिवेदनमा भनिएको छ ।