News

शरणार्थी प्रकरणमा गिरोहको पैसा राख्न बैंक खाता दिँदा पक्राउ परिन लक्ष्मी महर्जन

लक्ष्मी, केशव तुलाधर र हरिभक्त महर्जनको भूमिका एउटै

शरणार्थी प्रकरणमा गिरोहको पैसा राख्न बैंक खाता दिँदा पक्राउ परिन लक्ष्मी महर्जन

नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडितबाट गिरोहले उठाएको पैसा जम्मा गर्न आफनो बैंक खाता दिएका तीन जना उक्त प्रकरणमा तानिएका छन्। त्यसमध्येमा ३२ वर्षीया लक्ष्मी महर्जनलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो।

ललितपुरको बुङगमती बस्ने उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। प्रहरीले उनलाई सिधै अदालतमा पेश गरिसकेको छ। सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा उनको नाम १८औं नम्बरमा छ।

लक्ष्मी महर्जन १७ औं नम्बरका प्रतिवादी केशव तुलाधरकी श्रीमती हुन्। १९ औं मा हरिभक्त महर्जनको नाम समावेश गरिएको छ। यो प्रकरणमा उनीहरु तीनै जनाको भूमिका गिरोहको पैसा राख्न बैंक खाता उपलब्ध गराउनु हो।

पक्राउ परेका सन्देश शर्माले रकम जम्मा गराउनका लागि उनीहरूको खाता प्रयोग गरेको प्रहरीले जनाएको छ। लक्ष्मी उनका श्रीमान केशवका कारण जोडिएकी हुन। उनका श्रीमान पनि पक्राउ परेपछि उनीहरू र गिरोहसँगको सम्बन्धका विषयमा थप खुलासा हुने प्रहरीले जनाएको छ।

प्रहरीले अदालतमा दर्ता गराएको अभियोग पत्रमा ०७९ जेठ १८ गते पहिलो पटक जाहेरी दिएका गजेन्द्र बुढाथोकीलाई सन्देश शर्माले लक्ष्मी महर्जन र केशव तुलाधरको खातामा पैसा राख्न लगाएको उल्लेख छ।

शर्माले बुढाथोकीलाई ह्वाट्सएप मार्फत महर्जन र तुलाधरको खाता नम्बर पठाइदिएका थिए। त्यसपछि बुढाथोकीले एक पटक २० लाख र अर्को पटक १५ लाख जम्मा गरेका थिए। उक्त रकम उनीहरूले कनेक्ट आइपिएसमार्फत १० लाखको दरले तीन पटक र पाँच लाख एक पटक गरी पैतिसै लाख हरिभक्त महर्जनको लुम्बिनी विकास बैंकको खातामा पठाएको अभियोगपत्रमा उल्लेख छ।

हरिभक्तले पनि आफ्नो खातामा आएको रकमको ८ लाख ५० हजार रुपैयाँको चेक विकेन महर्जनको नाममा पठाएका थिए। उक्त चेकबाट विकेनले नगद भुक्तानी लिएको खुलेको हो।

लक्ष्मी महर्जन पक्राउ परेपनि केशव र हरिभक्तसहित १३ जना अझै फरार छन्।

भुटानी शरणार्थी

विशेष