News

पूर्वमहान्यायाधिवक्ता भन्छन्ः भुटानी शरणार्थी बन्न तयार पीडित होईनन, कारवाही गर्नुपर्छ

२७ लाख तिरेर, देशलाई सरापेर जाने मान्छे पीडित हुन्छ ? 

पूर्वमहान्यायाधिवक्ता भन्छन्ः भुटानी शरणार्थी बन्न तयार पीडित होईनन, कारवाही गर्नुपर्छ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १७ जना मध्ये आईतवार साँझसम्म पाँच जनाको थुनछेक बयान सकिएको छ। यसअघि सागर राई र केशव दुलालको बयान सकिएकोमा आइतबार टंक गुरुङ, लक्ष्मी महर्जन र सन्दीप महर्जनको बयान सकिएको हो । 

काठमाण्डौं जिल्ला अदालतमा उनीहरुको बयान भएको हो। आइतबार पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईको बयान लिने तयारी रहेपनि उनले आफूलाई विसञ्चो भएको बताउँदै बयान दिन मानेनन्।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले चार दिनअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्री, बहालवाला सचिव, पूर्वसभासदसहित ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा चारवटा अभियोगमा मुद्दा दायर गरेको थियो।

आरोपितहरुमध्ये १३ जना अझै फरार छन्। सबैविरुद्ध संगठित ठगी, राष्ट्रहित प्रतिकूल हुने कसूर र कीर्ते गरेको अभियोग छ। यता, लाखौ रुपैयाँ खर्च गरेर कानुन विपरित अमेरिका जान खोज्ने पीडित भनिएकाहरुलाई पनि कारवाही गर्नु पर्ने आवाज उठिरहेको छ।

यो प्रकरणमा १०६ जना पीडित रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । त्यसमध्ये अमेरिका जान तयार हुनेलाई गिरोहसम्म पुर्याउने लोकल एजेन्टहरू पनि पीडितका रूपमा छन् । त्यसो त विचौलियाका रूपमा देखिएका सानु भन्डारीले समेत आफूलाई पीडित भन्दै केही महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

उनीहरु गैरकानूनी कामका लागि तयार भएकाले भुटानी शरणार्थी बन्न झूठा विवरण बुझाएको कसुरमा कारवाही गर्नु पर्ने जानकारहरु वताउँछन्। पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौला पीडित भनिएकाहरुलाई मुद्दा चलाउनु पर्ने बताउँछन्।

‘नेपालीहरु अमेरिका भाग्ने पैसाको कारणले होईन, पैसाको कारणले भाको भा भुटानी रिफ्युजीमा २७ लाख कहाँबाट ल्याउथ्यो त्यस्ले ? त्यसका कारण त्यो पीडित होईन, त्यसका विरुद्ध पनि मुद्दा चलाउनु पर्छ भन्ने मेरो लडाई त्यसकारणले हो।’– संग्रौलाले भने।

नक्कली भुटानी शरणार्थी भएर अमेरिका जान तयार हुनेहरु देशलाई सरापेर नक्कली पहिचान वनाएर जान खोजेको भन्दै उनले ति मध्येमा एक जना पनि गरिवका छोराछोरी नभएको वताएका छन्। ‘२७ लाख पुर्याउने मान्छे गरिव हुन्छ, त्यो गरिव हो ? गरिवीका कारणले कोही पनि नेपाली, गरिव कहाँबाट गको छ अमेरिका देखाउनोस त’ उनी भन्छन्–‘वुढानिलकण्ठमा पढेको मान्छे १९ हजार गाको छ, त्यो गरिवको छोराछोरी हो ? पुल्चोकमा पढ्ने आधा मान्छे गाको छ, त्यो गरिवको छोराछोरी हो ? गरिव त विदेश गकै छैन (अमेरिका)। उ त उँटको मुत सोहोरेर नेपालका लागि पैसा कमाउन ल्याउन गाको छ, उत फर्केर आउने हो चार वर्ष पछाडि। धनीका छोराछोरी विदेश गका छन् देश सरापेर। त्यसकारण गरिव भएर गाको होईन।’

‘त्यो मान्छे विदेश गको हो, जसले आफुलाई माईन्ड सेट, आफुलाई कोलोनाईज गर्याछ र म दास हुँ, एउटा ईन्डिपेन्डेन्ट मानिस होईन भन्ने सोच्छ। त्यस कारण उ त्यहाँ जान्छ, किन भने अर्काको भाँडा माझ्न कोही पनि जाँदैन।’– संग्रौलाले भने। 

भुटानी शरणार्थी

विशेष