News

नेपाल दोस्रो पटक एसिया कपका लागि छनौट, २१ वर्षअघि छनौट भएर पनि खेल्न पाएन

नेपाल दोस्रो पटक एसिया कपका लागि छनौट, २१ वर्षअघि छनौट भएर पनि खेल्न पाएन

कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ। च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ।

युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो। नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन जोडे। दुईबीच चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो।

त्यसअघि नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेल आउट भएका थिए। तर, गुलशन र भीमको उत्कृष्ठ साझेदारी समक्ष यूएई टिक्न सकेन। योसँगै आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ। नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।

यद्यपी एसिया कपमा छनोट भएको भने यो दोस्रो पटक हो । २००२ मा पनि नेपाल एसिया कपका लागि छनोट भएको थियो । सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो ।

एसीसी ट्रफीको फाइनलमा पुगेका दुई टोली यूएई र नेपाल एसिया कपका लागि छनोट भएका थिए । नेपालले मलेसिया र यूएईले हङकङलाई सेमिफाइनलमा पराजित गरेका थिए । राजु खड्काको कप्तानीमा नेपालले सिंगापुरमा उत्कृष्ट खेल खेल्दै समूहचरणमा ओमान, कतार, कुवेतलाई पराजित गरेको थियो ।

यूएईसँग पराजित भए पनि समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले मलेसियामाथि उत्कृष्ट पुनरागमन गर्दै २५ रनको विजय हात पारेको थियो । नेपाल समूहचरण र फाइलनमा यूएईसँग समान ६ विकेटले पराजित भएको थियो । 

तर भारत र पाकिस्तानबीच कारगिलमा युद्ध चलिरहेको थियो । भारतले पाकिस्तानसँग खेल्न अस्विकार गरेपछि नेपाल र यूएई छनोट भएर पनि एसिया कप खेल्न बन्चित भएको थियो ।

२००५ मा पाकिस्तानमा भएको एसियाली क्रिकेट परिषद् (एसीसी) को बैठकले २००२ को एसीसी ट्रफीबाट छनोट भएर आएको एक संस्करण हटाउँदै २००६ मा एसिया कप आयोजना गर्ने निर्णय गरेपछि नेपाल झन्डै दुई दशक अगाडि नै भारत र पाकिस्तानसँग एकदिसीय अन्तर्राष्ट्रय खेल्न वञ्चित भएको थियो ।

विशेष