News

कोशी प्रदेश नामकरणको विरोध प्रदर्शमा ढुङ्गा र वोतल हान्ने २१ जनालाई प्रहरीले छोडेन

कोशी प्रदेश नामकरणको विरोध प्रदर्शमा ढुङ्गा र वोतल हान्ने २१ जनालाई प्रहरीले छोडेन

कोशी प्रदेश नामकरणको विरोधमा आईतवार विराटनगरमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका ८६ मध्ये २१ जनालाई प्रहरीले रिहा गर्न मानेको छैन।  पक्राउ परेका ६५ जना भने रिहा भएका छन्।

कोशी प्रदेशसभा घेराउका क्रममा पक्राउ परेका २१ जनालाई प्रहरीले थप अनुसन्धानका लागि भन्दै नियन्त्रणमा राखेको छ ।

कोशी प्रदेश नामकरणपछि बसेको पहिलो अधिवेशनका क्रममा प्रदेश सभा घेराउन गर्ने भन्दै नामको विरोधमा आन्दोलनरत पक्षले आन्दोलनको घोषणा गरेका थिए। आन्दोलनका लागि विभिन्न जिल्लाबाट मान्छे वोलाईएको थियो।

यही प्रदर्शनलाई ध्यानमा राखेर स्थानीय प्रशासनले विराटनगरका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। सोही क्रममा प्रहरीले आइतबार बिहानैबाट शंकास्पद ब्यक्तिहरुलाई नियन्त्रणमा लिन थालेको थियो। दिउँसो प्रहरीमाथि ढुङ्गा र बोतल प्रहार गर्नेलाई पनि नियन्त्रणमा लिईएको थियो।

नियन्त्रणमा लिएका मध्ये ६५ जना छुटेको र २१ जना प्रहरी हिरासतमै रहेको जनाईएको छ। प्रदर्शनका क्रममा १७ जना प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रदर्शनकारीको ढुंगामुढा प्रहारबाट नेपाल पुलिसका २० जना, सशस्त्र प्रहरीका १६ जना घाइते भएका छन् ।

तोडफोड र ढुंगामुढामा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन ९० सेल अश्रुग्यास र ३८ राउन्ड हवाई फायर भएको मोरङका एसपी दीपक पोख्रेलले बताए ।

फागुन १७ गते कोशी प्रदेशसभाको २ तिहाइ बहुमतले प्रदेशको नामकरण गरेपछि पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राख्दै आन्दोलन भइरहेको छ । 
 

विशेष