News

वडा कार्यालयमै हरायो सन्दीपलाई मुद्दा हाल्ने नाबालिकाको जन्मदर्ता अभिलेख

सन्दीपलाई कस्ले दियो वडा कार्यालयमै नभएको दर्ता अभिलेखको फोटोकपी ?

वडा कार्यालयमै हरायो सन्दीपलाई मुद्दा हाल्ने नाबालिकाको जन्मदर्ता अभिलेख

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरीको जन्मदर्ताको अभिलेख वडा कार्यालयबाटै गायव भएपछि विभिन्न आशंका उब्जिएका छन्। किशोरी ‘नाबालिका हुन् भन्ने पुष्टि गर्ने कागजात (जन्मदर्ता) षडयन्त्र पूर्वक वेपत्ता पारिएको आशंका कतिपयले गरेका छन्।

पीडितको जन्मदर्ता रहेको नुवाकोटको वडा कार्यालयले अभिलेख हराएको भन्दै जिल्ला अदालतलाई पत्र पठाएको छ। जिल्ला अदालत, काठमाडौंमा दोस्रो पटक पत्र पठाउँदै ‘कार्यालयमा जन्मदर्ता किताब अभिलेख नरहेको’ जवाफ वडा कार्यालयले पठाएको हो।

घटना हुँदा पीडित १८ वर्ष मुनिको जन्म दर्ता थियो। तर शैक्षिक प्रमाणपत्रमा भने उमेर १८ कटेको थियो। १८ वर्ष मुनीकासँग सहमतिमै शारीरिक सम्पर्क राखे पनि कानुनले जबरजस्ती मान्ने भएकाले सन्दीपको मुद्दा संवेदनशील मानिएको छ।

सन्दीप पक्ष भने पीडितको उमेर १८ वर्ष पुगिसकेको र सहमतिमै सम्बन्ध भएको दाबी गर्न प्रयासरत छ। सोही कारण पीडितको जन्मदर्ता लुकाउन खोजिएको आशंका गरिएको छ। पीडितले बलात्कारको घट्ना हुनुभन्दा केही समय अघि मात्रै नागरिकताको प्रमाणपत्र लिएकी थिईन। त्यसका लागि वडा कार्यालयले ०६२ जेठ १८ गतेको जन्म मिति उल्लेख गरेर सिफारिस गरेको थियो।

तर, जिल्ला अदालतले पहिलो पटक जन्मदर्ताको कागजात माग्दा वडा कार्यालयले ०६१ असार १८ को विवरण पठाएको छ । दुई थरी जन्म मिति भेटिएपछि पीडितका कानुन व्यवसायीहरूले इजलासमा प्रश्न उठाए । बलात्कारको घटनापछि वडा कार्यालयले जन्म दर्ताको विवरण फेरेको भेटिएको कतिपयको आशंका छ।

०८० जेठ ७ गते न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले वडा कार्यालयले जन्मदर्ताको अभिलेख किताब नरहेको तर सन्दीप पक्षधरहरुले जन्मदर्ताको किताबको फोटोकपी पेश गरेको भन्दै त्यसबारे स्पष्ट पार्न वडा कार्यालयलाई आदेश दिएको थियो ।

अहिले लामिछानेले पेश गरेको जन्मदर्ताको फोटोकपी कहाँबाट आयो ? भन्ने प्रश्न खडा भएको छ। वडा कार्यालयले नै नरहेको भनेको दर्ता कितावको फोटोकपी नेपाल फर्कनासाथ अदालत हाजिर भएका सन्दिपले कसरी पेश गरे भन्ने आशयमा न्यायाधीश पराजुलीले आदेशमा प्रश्न उठाएका छन् ।

‘पीडितले जन्मदर्ता माग गर्ने समयमा अनलाइल मार्फत कार्य भएकोले कार्यलयमा सो अभिलेख किताब नरहेको भनी जवाफ प्राप्त भएको’ आदेशमा भनिएको छ, ‘तर प्रतिवादीले वयान साथ उक्त जन्मदर्ताको किताबको प्रतिलपि पेश गरेको...’

यही विरोधाभाषविच उनले वडा कार्यालयमा दर्ता किताव रहेको अनुमान गरी त्यसको सक्कल प्रति मगाएका हुन् । आदेशमा भनिएको छ, ‘पीडितको जन्ममिति फरक फरक उल्लेख भएको देखिएकाले सो सम्बन्धमा के कसो भएको हो स्पष्ट जवाफसहित सो जन्मदर्ता किताबको सक्कल यथाशीघ्र पठाइदिनू ।’

अदालतको आदेशपछि वडा कार्यालयले १८ असार २०६१ मा नै अभिभावकबाट जन्मदर्ता भएको  उल्लेख गरेको छ । कार्यालयका अनुसार पीडितले पहिलेको जन्मदर्ता हराएको भनेर निवेदन दिएपछि एसईईको प्रमाणपत्रमा उल्लिखित मिति मिल्नेगरी १८ जेठ २०६२ बनाइदिएको हो ।

वडा कार्यालयले पत्रमा भनेको छ, ‘प्रतिलिपि जारी गरिएको मिति १४ असार २०७९ मा अनलाइनमार्फत कार्य भएकाले कार्यालयमा जन्मदर्ता किताब अभिलेख नरहेको र अनुसूची फारमलाई नै आधार मानी जन्मदर्ता प्रमाणपत्र जारी गरिएको।’


क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि बलात्कार गरेको भनी ०७९ भदौ १६ मा पीडितले जाहेरी दिएकी थिइन्। लामिछाने असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो। भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी–२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।

उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। 

सन्दीप लामिछाने

विशेष