News अपराध सुरक्षा

विजय उत्सव मनाए झै मन्त्री क्वाटर छिरेका रेशम चौधरी विरुद्ध सर्वोच्चमा दर्ता भयो रिट

विजय उत्सव मनाए झै मन्त्री क्वाटर छिरेका रेशम चौधरी विरुद्ध सर्वोच्चमा दर्ता भयो रिट

तीन तहकै अदालतबाट जन्मकैदको सजाय पाएका टीकापुर हत्याकान्डका योजनाकार रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध पीडितले सर्वोच्च अदालतमा मंगलवार रिट दर्ता गरेका छन्।

टिकापुर घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले सरकारको निर्णय विरुद्ध रिट दर्ता गराएकी हुन। सरकारले चौधरीलाई आम माफी दिने तयारी गरेपछि आईतवार नै शारदा रिट लिएर सर्वोच्च पुगेपनि उनको रिट दर्ता भएन।

सोमबार माफी पाएर चौधरी जेलमुक्त भइसकेका छन् । शारदाले घटनाका पीडितलाई अन्याय हुने गरी मन्त्रिपरिषद्बाट निर्णय भएको दाबीसहित उक्त निर्णय र सिफारिस कार्यान्वयन रोक्न रिटमा माग गरेकी छिन्। उक्त मुद्दाको पेशी बुधबारका लागि तोकिएको छ।

गत आइतबारको मन्त्रिपरिषद् बैठकले चौधरीसहितका १९ जनालाई आममाफी दिन सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएको सिफारिस सदर गरेपछि सोमबार गणतन्त्र दिवसको खिल्ली उडाउँदै रेशम डिल्लीबजारस्थित कारागारबाट फुलमालासहित मन्त्री क्वाटर पुगेका थिए।

०७२ भदौ ७ गते टीकापुरमा भएको थारु आन्दोलनका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए। 

उक्त घटनामा रेशम सहभागी भएको प्रमाण भेटिएपछि जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतले उनलाई जेल सजाय तोकेको थियो। 
 

विशेष