News

सांसदलाई बाँड्ने पैसाले ५० शैय्याको १६ वटा अस्पताल र ३० वटा विद्यालय बनाउन पुग्ने मिश्रको दावी

भ्रष्टाचार गर्न पाउने भएपछि अपवाद वाहेक सवै सांसद ‘तै चुप–मै चुप’

सांसदलाई बाँड्ने पैसाले ५० शैय्याको १६ वटा अस्पताल र ३० वटा विद्यालय बनाउन पुग्ने मिश्रको दावी

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सांसद विकास कोषका नाममा वाँडिएको ८ अर्बले ५० शैय्याको १६ वटा अन्तर्राष्ट्रिय स्तरको अस्पताल र बुढानिलिकण्ठ शैलीका कम्तिमा ३० वटा भव्य विद्यालय निर्माण गर्न पुग्ने दावी गरेका छन्।

अस्पताल वनाईरहेका प्राविधिकहरुको भनाई उधृत गर्दै मिश्रले यस्तो वताएका हुन। ‘अस्पताल निर्माण गरिरहेका मेरा डाक्टर साथीहरू भन्छन्, रू ८ अर्बले ५० सैयाको १६ वटा अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण हुन सक्छ। त्यस्तै मेरा आर्किटेक्ट साथीहरू भन्छन्, रू ८ अर्बले कम्तिमा ३० वटा बुढानिलिकण्ठ शैलीका भव्य विद्यालयहरू निर्माण हुन सक्छ।’ मिश्रले भनेका छन्।

यसैगरी उनले भ्रष्टाचार गर्न पाउने भएपछि अपवाद वाहेक सवै सांसद पनि ‘तै चुप–मै चुप’ हुने दावी गरेका छन् । ‘अहिले बजेटमा हरेक सांसदलाई ५ करोडको दरले कूल ८ अर्बभन्दा बढी रकम छुट्याइएको छ’ उनले भनेका छन्–‘अब हेरी राख्नोस्, केही अपवाद सांसद बाहेक आफूलाई फाइदा हुने भएपछि सबैजना ‘चुप’ रहने छन्। नेपालमा भ्रष्टाचार मौलाएको त्यसै होइन।’

उनले समग्रमा नेपाली नेताहरुको नैतिक धरातल नै पातालमा पुगिसकेको आरोप पनि लगाएका छन्। सांसद विकास कोषबाट नीतिगत भ्रष्टाचारको फाइदा लिने सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा अर्को पटक आफूलाई जित्न सजिलो हुने गरी रकम परिचालन गर्ने दावी गरेका उनले ‘मान्छेको जस्तै देशको नियति पनि भाविले नै कोरेको हुने रहेछ!’ भन्दै निराशा ब्यक्त गरेका छन्।

सांसद विकास कोष रविन्द्र मिश्र

विशेष