धोनीको टीम चेन्नईले पाँचौं पटक जित्यो आईपीएल उपाधि

इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । सोमबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराउँदै चेन्नईले उपाधिमाथि कब्जा जमाएको हो ।
आईपीएलको फाइनल आइतबार नै हुनुपर्ने थियो । तर, वर्षाका कारण खेल प्रभावित भएपछि सोमबार फाइनल खेलाइएको हो । सोमबारको खेल पनि वर्षाबाट प्रभावित भएपछि हारजितको निर्णय ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा गरिएको थियो ।
२१५ रनको लक्ष्य पछ्याएको चेन्नाइले सुरुवाती ३ बलमा चार रन बनाएको अवस्थामा पानीले खेल रोकिएको थियो । पानी रोकिएपछि चेन्नाइले १५ ओभरमा १७१ रनको लक्ष्य पायो । राम्रो सुरुवात गरेर पनि एकपछि अर्को विकेट गुमाएको उसका लागि अन्तिम दुई बलमा १० रन चाहिएको थियो । पहिलो बलमा छक्का हानेका रवीन्द्र जडेजाले अर्को बलमा चौका हाने र पाँच विकेटले विजयी भयो ।
यसअघि गुजराजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो । कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि जितेको हो । यसअघि चेन्नईले सन् २०१०, सन् २०११, सन् २०१८ र सन् २०२१ म आईपीएलको उपाधि जितेको थियो ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय १४ रन बनाएको थियो ।