News

सन्दीप लामिछानेको मुद्दामा आज पेशी, किन पटक पटक सर्छ सुनुवाई ?

सन्दीप लामिछानेको मुद्दामा आज पेशी, किन पटक पटक सर्छ सुनुवाई ?

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजका लागि सुनुवाइको पेसी तोकिएको छ । 

यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको लामिछानेको मुद्दा पीडितको उमेर विवादका कारण आजलाई सरेको थियो। इजलासले लामिछानेका कानुन व्यवसायीले पीडितको उमेरको विवादमा पेस गरेको जन्ममिति सम्बन्धि प्रमाण पुनः झिकाउन आदेश भएको थियो ।

जाहेरवालाको नागरिकतामा उल्लेख जन्ममिति अनुसार उनी नाबालिग हुन् । तर, लामिछानेका कानुन व्यवसायीहरुले विद्यालय सर्टिफिकेट तथा जन्मदर्तामा उल्लेख भएको जन्ममिति अनुसार जाहेरवाला बालिग ठहर्ने बताउँछन् ।

त्यसैले लामिछानेका कानुन व्यवसायीले जाहेरवालाको जन्ममितिलाई मुल मुद्दा बनाएर बहस गर्दै आएका छन्। यही विषयको टुंगो नलाग्दा पटकपटक सुनुवाइ स्थगित हुँदै आएको छ। कहिले हेर्न नभ्याउने त कहिले प्रतिवादीले सन्दीपलाई थुनामा पठाउने न्यायाधीशको इजलासमा सुनुवाइ परेकाले स्थगित हुँदै आएको छ।

०७९ भदौ ५ गते पटकपटक बलात्कार गरेको आरोपमा भदौ २१ गते लामिछाने विरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको थियो । त्यसको एक महिनापछि असोज २१ गते लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

उनलाई न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पूर्पक्षका लागि थुनामा पठाएको थियो। पाटन उच्च अदालतले त्यो आदेश उल्टाउँदै लामिछानेलाई विदेश जान नपाउनेसहित ५ सर्तसहित २० लाख धरौटीमा रिहा गर्यो।

उच्च अदालतको आदेश सदर गर्दै सर्वोच्च अदालतले क्रिकेट खेल्न विदेशसमेत जान मिल्ने छुट दिएको थियो।

सन्दीप लामिछाने

विशेष