News

भारतीय संसदमा नक्शाको तरंगः वास्तविक्ता छोप्न मोदी विरोधीले पोतेको राजनीतिक रंग

भारतीय संसदमा नक्शाको तरंगः वास्तविक्ता छोप्न मोदी विरोधीले पोतेको राजनीतिक रंग

गत आईतवार प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेको भारतको नयाँ संसद भवनमा राखिएको भित्तेचित्र अहिले बहसको विषय वनेको छ। भारतसहित पाकिस्तान र नेपालका पनि केही ठाउँहरुलाई समावेश गरिएका कारण यो भित्तेचित्र वहसको विषय भएको हो। तर, यो नक्साले न त अखण्ड भारतवर्षको प्रतिनिधित्व गरेको छ न त भारतको वर्तमान राजनीतिक नक्शालाई नै समेटेको छ। यो नक्शामा खाली दक्षिण एसियाका केही ऐतिहासिक र सांस्कृतिक महत्वका क्षेत्रहरुको चित्रणको रूपमा कार्य गरेको जानकारहरु वताउँछन्।

नक्शामा हिन्दु र बौद्ध धर्मका विभिन्न तीर्थस्थलहरू देखाउँदै तिनीहरूको धार्मिक महत्वलाई उजागर गरेको छ। यसमा हस्तिनापुर जस्ता शहरहरू समावेश छन्, जुन आजको मितिमा अस्तित्वमा पनि छैनन् । अझ आश्चर्यको कुरा के छ भने, यो नक्सामा वर्तमान भारतको काश्मिरका पनि कतिपय भागहरू समेटिएका छैनन्। जसका कारण यो नक्साको सम्वन्ध अखण्ड भारतसँग छैन भन्ने पुष्टि गर्दछ। यो नक्शाको वर्णन पाठ ब्राह्मीमा लेखिएको छ, जुन राजा अशोका कालमा प्रयोग भएको पुरानो लिपि हो। यसले पनि यस नक्शाको सम्वन्ध ऐतिहासिक र सांस्कृतिक पक्षहरूमा केन्द्रित रहेको संकेत गर्दछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कतिपय जन्मजात विरोधी नेताहरुले यसलाई अखण्ड भारतवर्षको प्रतिनिधित्वको रूपमा भ्रामक प्रचार गर्दै सामाजिक सञ्जालमा पोष्टहरु गर्न थालेपछि नक्साबारे विवाद उत्पन्न भएको हो । त्यस विवादलाई नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वगृहमन्त्रनी कमल थापालगायतको प्रतिक्रियाले अझै मलजल गरेको छ। उनीहरुले ऐतिहासिक र सांस्कृतिक सम्पदाको कलात्मक चित्रण र राजनीतिक एजेन्डाबीचको भिन्नतालाई छुट्याउ नसक्दा अनावश्यक विवाद उत्पन्न भएको देखिन्छ।

खासमा भारतको नयाँ संसद भवनमा राखिएको यो नक्शाको सम्वन्ध विशेष गरी धार्मिक महत्वसँग छ। यसको उद्देश्य राजनीतिक र भौगोलिक दावी भन्दा पनि हिन्दू र बौद्ध धर्मका पवित्र तिर्थस्थलहरू प्रदर्शन गर्नु हो। नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगरका साथै पाकिस्तान र जम्मु–काश्मिरका क्षेत्रहरू समावेश गरिएको नक्साले यस क्षेत्रको साझा सांस्कृतिक र धार्मिक सम्पदा झल्काउँछ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणअघि यस्तो नक्सा जारी गरेको भन्दै नेपालमा पनि अहिले प्रश्नहरु उठाउन थालिएको छ। तर, हिन्दुत्व विचारक सवारकरको जन्मदिनको अवसरमा उदघाटन गरिएको यस संसद् भवनमा कुँदिएको ग्राफले हिन्दु र बौद्ध क्षेत्र समेटेर भारतले आफ्नो धार्मिक पहिचान विश्वसामु चिनाउन खोजेको देखिन्छ। 

नेपाल–भारतबीच राजनीतिक सम्बन्ध स्थापित हुनुअघिदेखि नै धार्मिक र सांस्कृतिक सम्बन्ध स्थापित भएको थियो। त्यसैगरी हाम्रा कयौं धार्मिक ग्रन्थहरुमा पनि भारत वर्षको कुरा उल्लेख गरिएको छ। जसमा आधुनिक नेपाल, भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तानका कयौं क्षेत्रहरुबारे वर्णन गरिएको पाइन्छ। 

यसरी ऐतिहासिक सम्बन्ध रहेको धार्मिक र सांस्कृतिक विषयमा राजनीति मिसाएर कूटनीतिक सम्बन्धमा धक्का पु¥याउने षड्यन्त्र भएकोले यस्ता षड्यन्त्रहरुलाई चिर्न नेपाल र भारत दुबै देशका सरकारको सकृय भुमिका आवश्यक रहेको जानकारहरु वताउँछन्।

नेपालका मुस्लिमलाई साउदी र इसाईलाई इजरायल प्रिय भएजस्तै भारतीयहरुलाई पनि पशुपतिनाथ, मुक्तिनाथ र जनकपुर आफ्नै आध्यात्मिक क्षेत्र भएको महसुस हुन्छ। नेपालका हिन्दुहरु पनि हरिद्वार, प्रयागराज र कुशीनाथ नपुगे उनीहरुको धार्मिक यात्रा अपुरो भएको मानिन्छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै नेपालको धाम बिना राम अधुरा र भारतका धर्म र संस्कृति अधुरो भएको बताएका थिए। यस कारण पनि नेपाल–भारतबीचको विशेष सम्बन्धमा खलल पुग्ने गरी षड्यन्त्र गर्न खोजिएकोतर्फ सजग भएर यस्ता भ्रम चिर्न आवश्यक रहेको उनीहरुको भनाई छ।

भारतले नयाँ संसदको निर्माण तीन वर्षअघि सुरू गरेको थियो। चार तले यो भवनको डिजाइनदेखि निर्माणसम्मको सबै काम भारतीय कम्पनीहरूले गरेका हुन्। भवन त्रिकोणात्मक आकारमा बनेको छ भने कुल ९७० करोड रुपैयाँ खर्च गरेर यसको निर्माण गरिएको जनाईएको छ।
 

नयाँ संसद भवन

विशेष