News

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक विरूद्ध पनि पक्राउ पुर्जी

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक विरूद्ध पनि पक्राउ पुर्जी

पूर्वगृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा  जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो। 

यसअघि पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेले भने आत्मसमर्पण गरिसकेका छन्।

पाण्डे २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए। मंगलबार मात्रै प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको खुलेपछि उनी पक्राउ परेका हुन्।

यस घटनामा उनका छोरा निरज राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर उनी फरार छन्। प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ।

२०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनाएको थियो। उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो। 

कार्यदलले मन्त्रालयलाई प्रतिवेदन बुझाएपनि सार्वजनिक गरेको थिएन। त्यस प्रतिवेदनमा ८ सय भन्दा बढी नक्कली ब्यक्तिलाई भुटानी शरणार्थीको बनाईएको स्रोतले बतायो। 
 

भुटानी शरणार्थी

विशेष