News

नागरिक्ता विधेयकमा रवि र मनिष झाको असन्तुष्टीः संसदीय मुल्य मान्यता विरुद्ध

नागरिक्ता विधेयकमा रवि र मनिष झाको असन्तुष्टीः संसदीय मुल्य मान्यता विरुद्ध

अघिल्लो संघीय संसद्बाट पारित भए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि त्यसको विरोध सुरु भएको छ।

विधेयक प्रमाणिकरण हुने वित्तिकै नायिका मनिषा कोइरालाले राष्ट्रपतिको कार्यको आलोचना गर्दै ‘लेन्डुप दोर्जेको याद आयो’ भन्दै प्रतिक्रिया जनाईन। राजनीतिक टिप्पणी खासै नगर्ने मनिषाले यस पटक एक कदम अगाडि वढेर ट्वीटर अकाउन्टमा उनलाई यो कुर्सी किन दिइयो भनेर बुझ्न गाह्रो नभएको बताएकी छिन् । यस्तै उनले राष्ट्रपतिको यो कदमले आफूलाई लेन्डुप दोर्जेको याद आयो समेत भनेकी छिन् ।  

लेन्डुप दोर्जे नेपाली राजनीतिमा निकै चर्चित नाम हो । उनलाई एक राष्ट्रघाती योद्धा भनिन्छ जसले आफ्नो सिक्किम राज्यलाई भारतमा लगेर गाभेका थिए भन्ने गरिन्छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध रहेको बताएका छन्। बुधबार फेसबुकमा लेख्दै नयाँ संसदमा छलफलसमेत नगराई नागरिकता विधेयक प्रमाणीकरण गरिएको उनले उल्लेख गरेका छन्।

‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरित, लोकतान्त्रित संसदीय मूल्यमान्यता र राष्ट्रहित विरूद्ध छ,’ लामिछानेले लेखेका छन्।

यसैगरी, रास्वपाका सांसद मनिष झाले पनि विधेयक प्रमाणिकरणको विरोध गरेका छन्। ‘अनागरिक हुनु भनेको सबैभन्दा पिडादायक अवस्था हो, नागरिकता विधेयक सधैँ अड्काएर राख्नुले धेरैको लागि जटिल समस्या सृजना भइरहेको छ। यो अनन्तकालसम्म अकडाउनु राम्रो हैन’ उनले लेखेका छन्–‘तर, नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रिक संसदीय मूल्य मान्यता विरुद्ध छ।’

यसरी, विधेयक प्रमाणीकरण गरेको विरोधमा शीतलनिवास अगाडि प्रदर्शन समेत भएको छ। नागरिकता विधेयकको विरोधमा नाराबाजीसहित प्रदर्शन गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् । संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो ।

तर भण्डारीले विधेयकमा असहमति जनाउँदै ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन । दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपति भण्डारी समक्ष पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले थन्क्याइदिएकी थिइन ।

फागुन २५ मा राष्ट्रपति बनेका पौडेलले ९ महिनापछि सरकारको अनुरोधमा नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । 

रामचन्द्र पौडेल नागरिकता विधेयक राष्ट्रपति

विशेष