प्रधानमन्त्री बन्न रविलाई कति सहज, यस्तो छ अंक गणित
कांग्रेस, माओवादी र नेकपा एस वाहेक सवैलाई फकाउन सम्भव छ ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रश्ताव गरेको विषय अहिले चर्चामा छ। ओली र लामिछानेबीच मंगलवार छलफल भएको थियो।
ओलीले नयाँ गठवन्धन बनाउने प्रयास स्वरुप प्रधानमन्त्री प्रश्ताव गरेपछि रास्वपा अध्यक्ष लामिछानेले जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पनि यस विषयमा छलफल गरेका छन्। दुई नेता बीचको भेटलाई रास्वपाले पनि पुष्टि गरेको छ। तर, के विषयमा छलफल भयो भन्ने पुष्टि गरेको छैन।
एमाले अध्यक्ष ओली जसरी पनि पुष्पकमल दाहाललाई प्रधानमन्त्रीबाट हटाउन चाहान्छन्। एमालेसँगको गठवन्धन परिवर्तन गरेर राष्ट्रपतिमा कांग्रेसलाई सघाएपछि ओली दाहालसँग रुष्ट छन्। सोही कारण एमाले सरकारबाट बाहिरिएको थियो।
यता, दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको जनमत पार्टी पनि सरकारसँग रुष्ट छ। चुनाव अघि गृहमन्त्रालय माग्दा नदिएकाले लामिछाने पनि दाहालसँग खासै प्रफुल्ल छैनन्। त्यसैले एमाले, रास्वपा, जनमत, जसपासहितका दलसँग मिलेर नयाँ गठबन्धन बनाउने र सरकारको नेतृत्व गर्ने गरी लामिछानेले छलफल अगाडि बढाएको स्रोतको दावी छ।
तर, लामिछाने सहज रुपमा प्रधानमन्त्री बनिहाल्ने अवस्था भने छैन। कांग्रेस, माओवादी र नेकपा एकिृत समाजवादी वाहेकका लगभग सवै सांसदको भोट पाए मात्र उनको प्रधानमन्त्री बन्ने सपना पुरा हुने देखिन्छ।
प्रधानमन्त्री बन्न १३८ सांसदको आवश्यक्ता पर्दछ। जसमध्ये एमालेसँग ७८, रास्वपासँग २१ र जनमतसँग ६ गरी जम्मा १०५ जना सांसद छन्। राप्रपाको १४, नागरिक उन्मुक्ति पार्टी ३ तथा राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीका एक–एक सांसदको पनि समर्थन पाउँदा पनि रविसँग १२४ सांसद मात्रै पुग्छन्।
पाँच जना स्वतन्त्र सांसदको सहयोग पाउँदा पनि उनीसँग पुग्ने भनेको १२९ सांसद मात्रै हो। उनलाई अझै ९ सांसद अपुग हुनेछ। रविले जसपा समेतलाई फकाउन सकेभने उनीसँग १४१ सांसद हुनेछन्। त्यो अवस्थामा भने उनीसँग ३ जना सांसद वढि नै हुनेछन्।
तर, ओलीसँग रिसाएका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई फकाएर गठवन्धन वनाउनु रविका लागि फलामको च्युरा चपाउनु सरह हुनेछ। अर्कोतर्फ पूर्वराजा ज्ञानेन्द्रलाई गाली गरेपछि ओलीसँग राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि रुष्ट छन्। त्यसमाथी ब्यक्ति–ब्यक्ति फकाएर गठवन्धन वनाउनु र त्यसलाई टिकाई रहनु रविका लागि त्यति सहज भने देखिएको छैन।
रवि लामिछाने