News

मितब्ययी सरकारका प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा १२० जना जन्ती !

मितब्ययी सरकारका प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा १२० जना जन्ती !

आर्थिक रुपमा देश टाट पल्टिन थालेको सरकारका पछिल्ला गतिविधिहरुले प्रष्ट पार्न थालेको छ। अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार (जेष्ठ १५) संघीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०८०÷८१ को बजेटले पनि यो कुरालाई पुष्टि गरेको छ।

अर्थमन्त्री महतले वजेट प्रस्तुत गर्दै स्रोतमा चाप परेको भन्दै सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरे। यतिमात्रै होईन, सरकारबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नुपर्ने बाहेक अन्य वैदेशिक भ्रमणलाई निरुत्साहित गरिने पनि उनले बताए । 

यो अवस्था हेर्दा सरकार मितब्ययी बन्न थालेको हो की ? भन्ने आभास हुन्छ। तर, कृयाकलापमा भने सरकारमा वसकेकाहरु अहिले पनि सुध्रिएका छैनन् भन्ने कुरा प्रधानमन्त्रीले आज गर्न थालेको भारत भ्रमणले देखाउँछ।

मितब्ययी वन्न खोजे झै गर्ने सरकारका प्रधानमन्त्री दाहाल ६ मन्त्री र ९ सचिवसहित करिब १२० जनाको जन्ती लिएर जाँदैछन्।

स्रोतका अनुसार भ्रमण टोलीका लागि ४७ जनाको कोटा दिएपनि १२० जना नाघ्ने देखिएको छ। ४७ जनाभन्दा बढी पाहुनाको खर्च भारतले ब्यहोर्दैन। भारत भ्रमणमा जानेमध्ये २५ जना ‘उच्चस्तरीय’ को नाम मन्त्रीपरिषदले स्वीकृत गरेको छ । उनीहरुमध्ये प्रधानमन्त्रीको सचिवालयका मात्रै १० जना रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग उनकी छोरी गंगा दाहाल, राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेश मल्ल, निजी चिकित्सक युवराज शर्मा भारत जाने छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका एकएक जना सुरक्षा गार्ड पनि प्रधानमन्त्रीको टीममा छन् ।

मन्त्रिपरिषद्ले ५ जना मन्त्रीको भ्रमण स्वीकृत गरेपछि कृषिमन्त्री बेदुराम भुसालको नाम थपिएको जनाईएको छ। भ्रमण टोलीमा समावेश मन्त्रीहरुमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसाल रहेका छन् ।

मुख्यसचिव शंकरदास बैरागी, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका दिनेशकुमार घिमिरे, गृह मन्त्रालयका दिनेश भट्टराई, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका धनराज ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मधुकुमार मरासिनी, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका गोविन्द शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका केशव शर्मा, वन तथा वातावरण मन्त्रालयका रेवतीरमण पौडेल पनि टोलीमा छन् ।

परराष्ट्र मन्त्रालयले मन्त्रीपरिषदमा पठाएको प्रस्तावमा ४० जना प्रतिनिधिमण्डलका सदस्य छन् । यस्तै, सञ्चारकर्मी ४ जना, सुरक्षाकर्मी ४ जना र नेपाली दूतावासका ५ जना गरी परराष्ट्रले पठाएको सूचीमा ५३ जना रहेका छन् । 

स्रोतका अनुसार ५० जनाको आसपासमा व्यवसायी र १३ जना सञ्चारकर्मीहरु निजी खर्चमा जानेछन् । यी व्यवसायी र सञ्चारकर्मीहरुसहित भ्रमण टोलीमा १२० जना भन्दा वढि हुने स्रोतले वतायो।

प्रधानमन्त्री दाहाल नेतृत्वको टोली दिउँसो २ः५० मा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । उनी जेष्ठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

विशेष