रामपुर क्याम्पसमा नेविसंघको अनावश्यक लफडा: विद्यार्थी परीक्षाबाट वञ्चित
१ महिनादेखि तालाबन्दी हुँदा चितवनमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसमा अध्ययनरत विद्यार्थी आफ्नो सेमेस्टरको अन्तिम परीक्षा दिनबाट वञ्चित भएका छन् ।
देशका अन्य आङ्गिक क्याम्पसमा धमाधम परीक्षा भइरहँदा रामपुर क्याम्पसमा भने नेविसंघले गरेको तालाबन्दीले परीक्षा अनिश्चित मात्र बनेको छैन विद्यार्थीकै भविष्यमाथि खेलबाड भएको छ । आफूहरूले परीक्षा दिन पाउनुपर्ने र नियमित पठनपाठन हुनुपर्ने माग राख्दै विद्यार्थीहरू आज जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेको छन् । विद्यार्थीहरूले जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउँदै तालाबन्दी खोली पढ्ने वातावरण बनाइदिन माग गरेका छन् ।
प्रशासन अगाडि विद्यार्थीहरूले विद्यार्थीको भविष्यमाथि खेलबाड नगर, परीक्षा खै?, कृषि प्रधान देशको कृषि शिक्षा यस्तै हुनुपर्ने, चार वर्षे कोष चार दुना ८ वर्ष लाग्ला जस्तो छ लगायतका कुराहरू लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । पाँचौँ सेमेस्टरको परीक्षा चैत २६ बाट सुरु भएर सकिसकेको छ । यसै गरी सातौँ सेमेस्टरको परीक्षा वैशाख ७ गतेबाट सुरु भएको छ । दोस्रो सेमेस्टरको परीक्षा जेठबाट गर्ने त्रिविको कार्यपालिका छ ।
आफूहरूले परीक्षा दिन नपाउँदा भविष्यमाथि चिन्ता लागेको र छिटो परीक्षा दिने वातावरण मिलाइदिन प्रशासनसमक्ष माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै सहायक सिडिओ चिरञ्जिवी शर्माले आगामी आइतबारसम्म नेविसंघ वार्तामा आएर सहमति नगरे प्रशासनले ताला फुटालिदिने आश्वासन विद्यार्थीहरूलाई दिए । क्याम्पस प्रमुख मिलन सुवेदीले विद्यार्थीहरूले पूरा गर्नै नसकिने माग राखेर तालाबन्दी गरेकाले वार्ता सफल हुन नसकेको बताए । स्ववियु निर्वाचन खारेज गराई पुनः निर्वाचन गराउनुपर्ने, क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने माग राख्दै नेविसंघ आन्दोलनमा उत्रिएको छ ।
स्वास्थ्य सम्बन्धी एउटा माग पूरा गरे पनि विद्यार्थीहरूले तालाबन्दी नखोलेपछि प्रशासनको सहयोग मागिएको उनको भनाइ छ । प्रशासनले पनि उपचुनावको कारण देखाउँदै समयमै सहयोग नगर्दा विद्यार्थीहरूलाई परीक्षामा सहभागी गराउन नसकिएको उनले बताए । राजनीतिक विषय भएका कारण कसैले पनि केही गर्न नसकेको उनको भनाइ छ । नेविसंघका सभापति आशिष देवकोटाले आफूहरूको माग पूरा हुनुपर्ने बताए । मेरो आफ्नै पनि परीक्षा रोकिएको बताउँदै उनले यो आफूहरूको बाध्यता भएको बताए । उनले क्याम्पस प्रमुखको वर्खास्ती र स्ववियु निर्वाचन पुनः हुनुपर्ने बताए ।