News

वीर अस्पतालकी नर्सको मृत्यु प्रकरणमा डाक्टरका बुबा पनि पक्राउ

वीर अस्पतालकी नर्सको मृत्यु प्रकरणमा डाक्टरका बुबा पनि पक्राउ

काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स ३४ वर्षीया अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा प्रहरीले डाक्टर सुजन ढकालका बुबालाई पनि पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–१६ बोहराटारका मुरलीप्रसाद ढकाललाई प्रहरीले बालाजु चोकबाट पक्राउ गरेको हो। डाक्टर सुजन भने यसअघि नै पक्राउ परेका थिए। दुवै जना विरुद्ध अनुमाको परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ।

जाहेरी दर्ता भएपछि डाक्टर ढकालका बावुछोरालाई नै नियन्त्रणमा लिएको प्रहरी वृत्त बालाजुले जनाएको छ। डिएसपी मनोजित कुँवरका अनुसार प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा गजेन्द्र श्रेष्ठले जाहेरी दर्ता गराएका छन्।

वीर अस्पतालकी स्टाफ नर्स श्रेष्ठ शनिबार अपराह्न डा ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। कोसी अस्पतालमा कार्यरत डाक्टर ढकालको कोठामा मृत भेटिएकी उनले सुसाईड नोट पनि छोडेको प्रहरीले जनाएको छ।

उनले छोडेको डाईरीमा ‘लामो समयदेखि प्रेम सम्वन्धमा रहेपनि सुजनले विवाह गर्न नमानेको र परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभएको’ उल्लेख गरिएको छ। अनुमाको शवसँगै भेटिएको ‘सुसाइड डायरी’मा आफूले दुई पटकसम्म गर्भपतन गराएको पनि उल्लेख छ।

सोही आधारमा उनका परिवारले आत्महत्या दुरुत्सानमा जाहेरी दिएका हुन्। प्रहरीका अनुसार डा ढकाल र मृतक श्रेष्ठबीच विगतमा प्रेम सम्बन्ध रहेको पाइएको छ। सोह्रखुट्टेमा कोठा भएकी अनुमा बेलाबेलामा सुजनकै घरमा गएर बस्ने पनि गरेकी थिइन् ।
 

अनुमा श्रेष्ठ

विशेष