News अर्थ अपराध सुरक्षा

८ वर्षअघि दिएको २२ लाख ऋण फिर्ता नभएपछि ऋणीकै घरमा आत्मदाह

८ वर्षअघि दिएको २२ लाख ऋण फिर्ता नभएपछि ऋणीकै घरमा आत्मदाह

विराटनगरमा ऋण दिएको पैसा फिर्ता नभएपछि एक ब्यक्तिले ऋणीकै घरमा गएर आत्मदाह गरेका छन्। उनको मृत्युपछि प्रहरीले अत्महत्या दुरुत्साहन मुद्दामा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ बस्ने ५५ वर्षीय प्रगति भन्ने गति पोखरेल र सोही महानगरपालिका–४ बस्ने ३६ वर्षीया सविना पोखरेल छन्।

गति पोखरेललाई उनकै घरबाट र सविना पोखरेललाई झापा कमल गाउँपालिका–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार गति र सविना दाजु वहिनी हुन।

विराटनगर महानगरपालिका–३ बस्ने गोविन्द प्रसाद नेपालले वैशाख १४ गते विहान सोही महानगरपालिका–४ तित्रिगाछी भन्ने स्थानमा रहेको पोखरेलको घर अगाडि गएर आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए। 

तत्काल उपचारको लागि विराटनगरस्थित रेडप्लस अस्पताल लगिएकोमा उपचारको क्रममा वैशाख १५ गते उनको मृत्यु भएको थियो।

डिएसपी रञ्जनकुमार दाहालका अनुसार मृतक नेपालले पोखरेललाई २०७२ सालमा २१–२२ लाख ऋण दिएको पाईएको छ। विराटनगर महानगरपालिकाको कार्यालय सहयोगीबाट अवकाश पाएका नेपालले दिएको ऋण उठाउन अनेक प्रयास गर्दा पनि फिर्ता नपाएपछि घरमै पुगेर आत्मदाह गरेको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।

मृतककी श्रीमतीले दिएको जाहेरीका आधारमा दाजुबहिनीलाई आत्महत्या दुरुत्साहन आरोपमा वैशाख १८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। सामान्य परिवारका पोखरेलले कुन प्रयोजनका लागि ऋण लिएका हुन् भन्ने पनि खुलिसकेको छैन।
 

विशेष