News

पार्टी सचिवनै ठगी प्रकरणमा तानिएपछि प्रधानमन्त्री भेट्न पुगे ओली

पार्टी सचिवनै ठगी प्रकरणमा तानिएपछि प्रधानमन्त्री भेट्न पुगे ओली

पार्टीका वहालवाला सचिव नै ठगी प्रकरणमा तानिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको आरोप लगाएका छन्। उनले यस विषयमा विहिवारै प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छलफल गरेका छन्।

दुई नेताबीच सिंहदरबारमा भएको भेटमा आफूले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए। 

‘एउटा सांसद, पटक–पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको ‘रहस्यपूर्ण छ’ प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले भने, ‘अहिलेको सिटिङ एमपी कहीँ भागेर जाने होइन ।’

ओलीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको घटनामा निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने बताए । ‘निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन, दोषी उम्काउन हाम्रो प्रयास हुदैन, निर्दोष फसाउन खोजियो भने हामी सहदैनौं’ उनले भने ।

एमाले नेताहरु यसमा तानिएको हो वा तनाएको हो भन्नेबारे अध्ययन भइरहेको पनि ओलीले बताए । ‘तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौं’ उनले भने–‘अध्ययन गरेपछि हामी बोल्छौं।’ 

अहिले ४ वर्षअघि चेक काटेको र उक्त चेक जसले काटेको उसैसँग रहेको जस्ता घटना सार्वजनिक भएको ओलीले बताए ।

तेस्रो देश पुनर्बास कार्यक्रमबाट बाँकी रहेका भुटानी शरणार्थी समस्या समाधान गर्न आफू नेतृत्वको सरकारले पहल गरेको भन्दै ओलीले त्यस विषयमा अन्तर्राष्ट्रिय समुदायसँग छलफल गरेको पनि बताए । ‘त्यसको स्टडी गर्ने कुरा भएको थियो, अलि पछाडि सुन्नमा आयो नक्कली शरणार्थी खडा गर्ने कोशिस हुँदैछ रे’ उनले भने–‘मैले गृहमन्त्रीलाई बोलाएर भनेको थिएँ यस्तै सुन्दैछु भनेर । अनुसन्धान विभागलाई पनि राम्ररी खोजीनीति गर्नु भनेको थिएँ।’
 

विशेष