News खेल

लियोनल मेस्सीले पीएसजी छोड्ने लगभग पक्का, अवको गन्तब्य कता ?

लियोनल मेस्सीले पीएसजी छोड्ने लगभग पक्का, अवको गन्तब्य कता ?

दुई हप्ताको निलम्वनमा परेका लियोनल मेस्सीले पीएसजी (पेरिस सेन्ट जर्मेन) छोड्ने लगभग पक्का जस्तै भएको छ। क्लबले उनको करार नवीकरण नगर्ने सम्भावना धेरै छ।

सन् २०२१ मा पीएसजीले एकपछि अर्को स्टारहरू क्लबमा भित्र्याएको थियो। फाइनान्सियल फेयर प्ले (एफएफपी) का कारण क्लबलाई धेरै तलब खाने केही खेलाडीहरूलाई हटाउनुपर्ने बाध्यता आईलाग्यो। किलियान एम्बाप्पे क्लबको नयाँ परियोजनाको अनुहार भएकाले पीएसजीका लागि मेस्सी र नेयमारमध्ये एकलाई हटाउनु पर्ने बाध्यता थियो।

क्लबमा भित्रिएका खेलाडीहरूमध्ये नुनो मेन्डेस र ड्यानिलो परेराले ठीकै गरेका छन् भने जिजी डोनारुम्मा र सर्जियो रामोशले पहिलेजस्तो प्रदर्शन गर्न सकेका छैनन् । जिनी विज्नाल्डम रोमा पुगिसकेका छन् भने अचरफ हाकिमी कहाँ पुग्छन् कसैलाई थाहा छैन । यी खेलाडीमध्ये पनि पीएसजीका समर्थकहरू सबैभन्दा निराश मेस्सीसँग भएका छन्, किनभने उनीहरू सबैभन्दा उत्साहित उनी आउँदा नै भएका थिए ।

पीएसजी लामो समयदेखि पहिलो च्याम्पियन्स लिगको उपाधि जित्न चाहन्छ भने मेस्सी पाँचौँ उपाधिको खोजीमा छन् । यही कारण पनि दुई पक्षबीचको सम्बन्ध स्थापित भएको थियो। आफ्ना मागहरूको लामो सूची पूरा गर्न इच्छुक क्लबहरूमध्ये पीएसजीले नै युरोपियन कपको उपाधि जित्ने सबैभन्दा उत्कृष्ट अवसर दिन्छ भन्ने मेस्सीलाई विश्वास थियो । 

तर, के पनि सत्य हो भने दुई पक्षलाई जोड्ने तत्व अन्ततः पैसा नै थियो । त्यही कारण मेस्सी र पीएसजी जोडिएका थिए र अहिले त्यही कारणले अलग हुन लागेका छन् । अहिले मेस्सीको न प्रशिक्षकसँग कुनै विवाद छ, न त ड्रेसिङ रुममा कुनै खटपट नै छ । मेस्सीले सम्भावित गन्तव्य साउदी अरबसँग मिलेर कतारलाई धोका दिए । यसले पीएसजीका मालिकहरू चिढिएका छन् ।

यो घटना पीएसजीको ‘पीआर’ का लागि ठुलो जित हो । क्लबले त्यहाँ रहेका सुपरस्टारहरूलाई एउटा दरो सन्देश दिएको छ, अनुशासनहीनता सह्य छैन । अब खेलाडीहरूले चाहेजस्तै मात्र सबै कुरा हुने छैन भन्ने सन्देश प्रवाह भएको छ ।

तर, मेस्सीको अनुपस्थितिले क्रिस्टोफर गाल्टियरको टोलीलाई भने दबाब बढ्नेछ । किनभने क्लबले अझै उपाधि जित्न बाँकै नै छ । गत साता लोरिएन्टसँग लज्जास्पद हार बेहोरेपछि लिगमा टोलीको अग्रता पाँच अङ्कमा झरेको छ । मेस्सीबिना क्लबले उपाधिमाथिको दाबेदारी कति सशक्त ढंगमा प्रस्तुत गर्छ, त्यो हेर्न बाँकी नै छ ।

यसैबीच अव मेस्सी कहाँ जान्छन भन्ने धेरैलाई चासो छ। मेस्सीको पूर्वक्लब बार्सिलोनाले लामो समयदेखि उनलाई भित्र्याउने प्रयास गरिरहेको छ । तर, पीएसजीबाट उनी बाहिरिने पक्कापक्की भइसक्दा पनि क्लबले यस विषयमा खासै प्रगति गर्न सकेको छैन । 

क्लबको कमजोर आर्थिक अवस्था र अन्य ठाउँबाट खेलाडीलाई भित्र्याउने उत्कट चाहनाले क्लबको योजना पुरा हुनेमा आशङ्का छ । मेस्सीलाई साउदी अरबबाट उच्च तलबसहितको अफर आएको छ । त्यस्तै, एमएलएसबाट इन्टर मियामीले पनि उनलाई भित्र्याउनेबारे इच्छा देखाएको छ । केही प्रिमियर लिग क्लबहरुले पनि मेस्सीको अवस्थाबारे रुचिका साथ हेरिरहेका छन् ।

३५ वर्षीय खेलाडी यो सिजनको अन्त्यमा फ्रि–ट्रान्सफरमा उपलब्ध हुनेछन् । त्यसैले मेस्सीलाई भित्र्याउने विश्वव्यापीरुपमा ठुलो प्रतिस्पर्धा हुने पक्का छ । किनभने अझै पनि उनी मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि क्लबका लागि फलदायी छन् । 
 

विशेष