News

टोपबहादुरका छोरा सन्दीप बुटवलबाट पक्राउ, बावुलाई पक्राउ गर्न  प्रहरी ‘हाई अलर्ट’

टोपबहादुरका छोरा सन्दीप बुटवलबाट पक्राउ, बावुलाई पक्राउ गर्न  प्रहरी ‘हाई अलर्ट’

एमाले नेता एवम पुर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप बुधवार बुटवलबाट पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई आज काठमाडौं ल्याउने तयारी छ। सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको पाइएको स्रोतको दाबी छ । यो प्रकरणमा गत १२ चैतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो ।

उनीहरुको बयानका आधारमा प्रहरीले मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । बुधबार भने पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

काठमाण्डौं जिल्ला अदालतले एमालेका सचिव समेत रहेका रायामाझी, पुर्वगृहमन्त्री बादलका छोरा प्रतिक र ईन्द्रजीतका छोरा निरज विरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ। उनीहरु पक्राउ परेका छैनन्।

पूर्वमन्त्री रायमाझी बुधवार अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन विशेष अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रम सकेर उनी काठमाडौंतिर लागेका छन् । प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरिरहेको छ ।

काठमाडौंमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको प्रतिक्षामा ‘हाई अलर्ट’ छन् । काठमाडौं आएपछि उनलाई सम्भव भएसम्म आजै पक्राउ गरिने उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले बताए । प्रहरीले उनलाई राती नै पक्राउ गर्ने तयारी गरेको थियो, तर अहिलेसम्म पक्राउ गरेको सूचना आएको छैन।

भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा टोपबहादुर रायमाझीको नाम लिएका छन् । बयानमा उनले भनेका छन– ‘हामीलाई टोपबहादुर रायामझीको सहयोग छ ।’ सो बयानका आधारमा अदालतले रायमाझीबिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 
 

टोपबहादुर रायमाझी भुटानी शरणार्थी सन्दीप रायमाझी

विशेष