News

हिमपहिरोमा परेर मृत्यु भएकाको शव भारतीय सडक प्रयोग गरी खलङ्गा ल्याइँदै

हिमपहिरोमा परेर मृत्यु भएकाको शव भारतीय सडक प्रयोग गरी खलङ्गा ल्याइँदै

दार्चुलामा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा भारतीय सडक प्रयोग गरीएको हो।

मंगलबार व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुले जनाएको छ। कमला र प्रविण आमा छोरा हुन् ।

‘पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलङ्गा पठाउन सकिने अवस्था छैन’ डिएसपी ईश्वरीदत्त भट्टले भने–‘भारतीय सीमा सुरक्षा बल (एसएसबी) सित समन्वय गरी शव पठाउन लागिएको छ।’

दुहुँ गाउँपालिकाका जनप्रतिनिधिसित समेत आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ । हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन् । बेपत्ता हुनेमा डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा  छन् ।

सशस्त्र प्रहरी बलको टोलीले मङ्गलबारदेखि बेपत्ताको खोजी गर्दैआएको छ । खोजी कार्यमा हिमपात र वर्षा बाधक बनेको छ । मंगलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा सङ्कलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । दाउरा खोज्न गएका सङ्कलकको भने ज्यान जोगिएको थियो । उनीहरु सबैलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा लगेको थियो ।

हाल सो क्षेत्रमा यार्सागुम्बा सङ्कलकलाई जानबाट सशस्त्र प्रहरीले रोक लगाएको छ । सो क्षेत्रमा दार्चुला र अन्य जिल्लाबाट सयौँ सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि गएका थिए । जेठ अन्तिम सातासम्म बर्सेनी यार्सागुम्बा सङ्कलन गरिन्छ । 
 

हिमपहिरो

विशेष