News

प्रचण्डले सम्राट अशोकसँग गरे आफनो तुलनाः अशोकको जीवनसँग मेरो जीवन पनि मेल खान्छ

प्रचण्डले सम्राट अशोकसँग गरे आफनो तुलनाः अशोकको जीवनसँग मेरो जीवन पनि मेल खान्छ

गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिरमा चीनियाँ दुतावासले आयोजना गरेको कार्यक्रममा उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहालले आफुलाई सम्राट अशोकसँग तुलना गरेका छन्। बुद्धका अनुयायी सम्राट अशोकको जीवनसँग आफ्नो जीवन पनि मेल खाएको उनको भनाई छ।

प्रधानमन्त्री दाहालले आफू ‘जनयुद्ध’बाट शान्ति प्रक्रियामा आउँदा बुद्ध दर्शनबाट प्रभावित बनेको बताए। ‘बुद्धका अनुयायी मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्गमा जाँदा जीवनको उत्तराद्र्धमा बुद्धका अनुयायी बनेजस्तै हाम्रो सन्दर्भमा समेत मेल खान जान्छ,’– उनले भने।

आमूल परिवर्तनको आकांक्षासहित सुरू गरिएको जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्ति प्रक्रियामा रूपान्तरण हुनुले क्रान्ति र शान्ति एकअर्काको पुरक रहेको उनले बताए। क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौतामार्फत् क्रान्ति र शान्तिलाई एकअर्काको पूरकको रूपमा व्यवहार सिद्ध गर्नुले आफू बुद्धका शिक्षाबाट प्रभावित भएको पुष्टि गर्ने बताए।

उनले बुद्धका शिक्षाबाट आफू प्रभावित मात्र होइन त्यो शिक्षालाई आफ्नै मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुशरण गरिरहेको दाबी गरे।

‘राजनितिक, सामाजिक र आर्थिक रुपान्तरणको सफल नेतृत्व गर्नुले बुद्धका शिक्षाबाट हामी प्रभावितमात्र नभएर हाम्रो विशिष्ठता र मौलिकतामा देश र जनताको सार्वभौम हितका निमित्त अनुशरणसमेत गरिरहेका छौँ भन्न सकिन्छ र यसलाई बुझ्न जरुरी छ’, उनले भने, ‘तर यसलाई जसरी विश्लेषण र संश्लेषण गरेर विश्व शान्तिका निम्ति स्वामित्व लिनुपथ्र्यो, त्यसमा कतै हामी चुकिरहेका त छैनौँ भन्ने अनुभूत हुन्छ । यसतर्फ ध्यान दिन म बौद्धिक समुदायलाई अपिल पनि गर्दछुु ।’

समारोहमा लिखित मन्तव्य वाचन गरेका दाहालले ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा नहुने भन्दै नेपालले आफ्नो मौलिक सभ्यता र संस्कृतिको संरक्षण गरेर मात्र ज्ञान विज्ञानको क्षेत्रमा नयाँ पहल लिन सकिने बताए।

२५६७औँ बुद्ध जयन्तीका अवसरमा चीनियाँ दुतावासले आज बुद्ध जन्मस्थल लुम्बिनीमा कार्यक्रम आयोजना गरिएको हो। 

विशेष