News

त्रिविका शिक्षकले विभागिय प्रमुखमाथि हेल्मेट प्रहार गरेपछि...

त्रिविका शिक्षकले विभागिय प्रमुखमाथि हेल्मेट प्रहार गरेपछि...

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. युवराज लुइँटेलमाथि हातपातको प्रयास भएको छ। लुईटेलको कार्यकक्षमै आंशिक शिक्षक ललित विष्टले हेलमेट बजार्दै तोडफोड गरेका छन् ।

वैशाख १३ गते विष्टले विभागीय प्रमुख लुइँटेलको कार्यकक्षमा तोडफोड गरेको आरोप छ। लुईटेलले विष्ट विरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा किटानी जाहेरी दिएका छन्। प्रहरीलाई उपलब्ध गराइएको क्लोज सर्किट (सीसी) क्यामराको दृश्यमा शिक्षक विष्टले विभागीय प्रमुख लुइँटेलतिर लक्षित गरेर अपशब्द बोल्दै हेलमेट बजारेको देखिन्छ ।

तनावको स्थिति सिर्जना भएपछि त्यहाँ उपस्थित एक जना विद्यार्थीले उनलाई रोक्ने प्रयास गरेका थिए। तर, शिक्षक विष्टले एकतर्फी अपशब्द बोलिरहँदा विभागीय प्रमुख लुइँटेलले ‘के बोल्नुभएको यस्तो’ भन्दै प्रश्न गरेको सुनिन्छ । तर, उनले ‘कुर्सीमा बसेर हावा कुरा गर्ने’ भन्दै सोफामा चढेर तोडफोडमा उत्रिएको भिडियोमा देखिएको छ ।

शिक्षक विष्टले आफुलाई करार शिक्षकमा सिफारिस नगरेको भन्दै लुईटेलमाथि हातपातको प्रयास गरेको वताईएको छ। समाजशास्त्र विभागका प्राध्यापकहरुका अनुसार आवश्यकताका आधारमा आंशिक शिक्षकहरुलाई करारमा लैजान मिल्ने गरी केही अघि आंशिक शिक्षक व्यवस्थापन कार्यविधि बनेको थियो । त्यही अनुसार अहिले तीन जना शिक्षकलाई करारमा लैजाने प्रक्रिया सुरु भएको थियो ।

विभागीय प्रमुख लुइँटेलका अनुसार कार्यविधि अनुसार करारमा लैजानका लागि सुरुमा केन्द्रीय विभागबाट स्वीकृति लिनुपर्छ । त्यसका लागि त्रिवि रजिष्टारको कार्यालयमा स्वीकृतिका लागि निवेदन पठाइएको थियो ।

तर, स्वीकृति आउनुअघि शिक्षक विष्टले यो विषयलाई लिएर विभागीय प्रमुख लुइँटेलको कार्यकक्षमा दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । प्राध्यापकहरुका अनुसार हाल विभागमा ५ जना आंशिक शिक्षक छन् । दुई जना फ्रान्स र जर्मनीबाट विद्यावारिधि गरेर १० वर्षदेखि कार्यरत छन्। अरु एमफिल गर्दै गरेका छन्। 

अछामको पञ्चदेवल विनायक नागरपालिका–४का स्थायी घर भएका विष्ट भने स्नातकोत्तर तह अध्ययन गरेका शिक्षक हुन। उनले दलीय भागबन्डाको आधारमा ३ जना शिक्षकलाई करारमा नियुक्ति गर्नुपर्ने भन्दै लुइँटेललाई धम्काएका हुन् ।

विशेष