News

आज विशेष चन्द्र ग्रहण लाग्दै, हेर्ने की नहेर्ने ? 

आज विशेष चन्द्र ग्रहण लाग्दै, हेर्ने की नहेर्ने ? 

आज विशेष चन्द्र ग्रहण लाग्दैछ। यस वर्षको पहिलो चन्द्रग्रहणलाई अरु बेलाको भन्दा विशेष मानिएको छ । अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा नदेखिने र चन्द्रमाको आकार पनि परिवर्तन नहुने भएकाले यसलाई विशेष मानिएको हो।

चन्द्रग्रहण शुक्रबार राति ८ बजेर ५९ मिनेटमा सुरू भइ ११ वजेर ०७ मिनेटमा मध्य हुँदै शनिबार बिहान १ बजेर १६ मिनेटमा सकिने छ । यो चन्द्रग्रहण खग्रास (पूरै ढाकिने) वा खण्डग्रास (केही भाग ढाकिने) नभएर बिरल छायाँजनित अर्थात् पेनमब्रल चन्द्र ग्रहण हो।

पेनुमब्रलमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभइ उपछाया मात्र पर्ने जनाईएको छ। अंग्रेजीमा यसलाई पेनुमब्रा पनि भनिन्छ । यसमा पृथ्वीको हल्का छाया परेको मात्र देखिन्छ । त्यसैले आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा परिवर्तन आएको नदेखिने खगोलविदहरुले जनाएका छन् । चन्द्रमाको आकार अरु सामान्य दिनमै जस्तो देखिने छ । तर रंग भने हल्का गुलाबीजस्तो हुनेछ ।

वैज्ञानिक मान्यतामा यो ग्रहणको अस्तित्व देखिए पनि शास्त्रीय मान्यतामा नदेखिने हुँदा त्यस सम्बन्धी धार्मिक/सांस्कृतिक मान्यताहरू लागू हुँदैनन्। सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो ।

यदि चन्द्रमा पृथ्वीको सघन छायामा परे खग्रास वा खण्डग्रास चन्द्र ग्रहण हुन्छ भने विरल छायामा पर्दा पेनमब्रल चन्द्र ग्रहण हुन्छ। यो ग्रहण नांगो आँखाले खासै छुट्याउन नसकिने हुनाले प्रचलनमा रहेको पञ्चाङ्ग तथा भित्तेपात्रोहरूमा यसको चर्चा नहुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।
 

चन्द्रग्रहण पेनमब्रल

विशेष