News

नक्कली भुटानी शरणार्थी प्रकरणः सहकारी सञ्चालकसहित थप ३ विरुद्ध पक्राउ पूर्जी

नक्कली भुटानी शरणार्थी प्रकरणः सहकारी सञ्चालकसहित थप ३ विरुद्ध पक्राउ पूर्जी

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १ अर्ब बराबरको रकम ठगी गरेको प्रकरण एक सहकारी सञ्चालकसहित थप ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। 

काठमाडौं जिल्ला अदालतले केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनका नाममा पक्राउ पूर्जी जारी गरेको हो। हरिभक्त महर्जन काठमाडौंको न्यूरोडमा रहेको दिया सहकारीको सञ्चालक समिति सदस्य हुन्।

हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा ठगी प्रकरणको ५५ लाख रुपैयाँ नगद जम्मा भएको पाइएपछि अनुसन्धानका लागि पक्राउ पूर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ।

यो प्रकरणमा प्रहरीले यसअघि नै ८ जनालाई पक्राउ गरिसकेको छ। नेकपा एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई पक्राउ परेका छन्।

यस्तै, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई समेत पक्राउ परेका थिए।

यता, नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, एमालेका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामवहादुर थापा बादलका छोरा प्रतिक तथा इन्द्रजितका छोरा निरज विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। उनीहरु फरार छन्।

विशेष