News

भुटानी शरणार्थी प्रकरणका पीडितको पैसाले पाण्डेले किनेका थिए ३ करोडको घर

पक्राउ पूर्जी जारी भएपछि भागेर रिसोर्टमा, प्रमाण नष्ट गर्न मोवाईल फर्म्याट

भुटानी शरणार्थी प्रकरणका पीडितको पैसाले पाण्डेले किनेका थिए ३ करोडको घर

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वगृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेले गृहसचिव भएलगत्तै तीन करोडको घर किनेको खुलेको छ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पीडितहरुबाट उठाएको रकमबाटै उक्त घर किनिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पाण्डे गत वुधवार पक्राउ परेका हुन। आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना पाएपछि उनी मंगलवार राती फरार भएका थिए।

उनको घर पेप्सीकोलामा फेला नपरेपपछि प्रहरी उनी लुकेको भक्तपुरस्थित आशापुरी रिसोर्टमा पुगेका थियो। पाण्डे रातभर त्यही रिसोर्टमा लुकेका थिए। प्रहरीले पाण्डेलाई रिसोर्टबाट उनकै गाडीमा राखेर घर पु-यायो।  उनले प्रहरीसँग ‘केही बयान तथा सोधपुछका लागि एकछिन उपस्थित हुनुपर्ने होकी बस्नै पर्ने हो ?’ भनेर सोधे।

प्रहरीले ‘बस्नुपर्ने हुन्छ सर’ भनेपछि पाण्डे नुहाउन थाले। ड्रेस चेन्ज गरेर पाण्डे झोलामा कपडाको पोका पनि हाले। त्यहाँबाट भने पाण्डेलाई गाडीको बीचमा राखेर छेउछेउमा प्रहरी बसेर परिसर टेकु पु-याइयो। उनले म्याद थपका लागि अदालत जान पनि आफ्नै गाडी प्रयोग गर्न खोजेका थिए तर प्रहरीले दिएन।

पाण्डेले त्यसअघि नै आफ्नो मोबाइल फर्म्याट गर्न भ्याईसकेको पाइएको छ । पाण्डेलाई पक्राउ गर्दा उनीसँग भएको मोबाइल प्रहरीले नियन्त्रणमा लिइएको थियो । तर, उनको मोवाईलबाट प्रहरीलाई केही हात लागेको छैन। 

तर, यसअघि पक्राउ परेका केशव दुलालको मोवाईलबाट उनको संलग्नता पुष्टि हुने धेरै कुरा प्रहरीले फेला पारेको छ। पूर्वपरराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका र पाण्डेबीच पारिवारिक सदस्यसरह कुराकानी भएको देखिन्छ ।

अनुसन्धान अधिकारीका अनुसार पाण्डे सचिव भएर गृह मन्त्रालयमा आएपछि गिरोहले उनलाई सम्पर्क सूत्रका रुपमा प्रयोग गरेको थियो । यो प्रकरणमा हालसम्म ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, टेकनारायण पाण्डे र सन्दीप रायमाझी पक्राउ परेका छन्।

अन्य ६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी भएका पुर्वमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको खोजी भइरहेको छ । ईन्द्रजीतका छोरा निरज एक महिनादेखि नेपालमा छैनन् । तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक त्यसको केही दिनदेखि नेपालमा नरहेको जनाईएको छ। काठमाडौंको न्यूरोडमा रहेको दिया सहकारीका सञ्चालक समिति सदस्य हरिभक्त महर्जन, लक्ष्मी महर्जन र केशव तुलाधर विरुद्ध शुक्रबार मात्रै पक्राउ पूर्जी जारी भएको हो।

अनुसन्धानमा सानु भण्डारी र केशव दुलाल नै मुख्य योजनाकार रहेको निष्कर्ष निकालेको छ । भण्डारी र टोपबहादुर रायमाझीबीच पुरानै चिनजान हो । घरजग्गा व्यवसायमा संलग्न भण्डारीले प्रारम्भिक रुपमा टोपबहादुरमार्फत नै गृह मन्त्रालयसम्म पहुँच बनाएको अधिकारीहरु बताउँछन् ।

गिरोहकै रोजाइमा किार्यदलमा सदस्य
रामबहादुर थापा ‘बादल’को मन्त्री स्तरीय निर्णयबाट ०७६ जेठ ३० गते पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनेको थियो । भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानको उपाय पहिल्याउन भन्दै गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित तीन सदस्यीय कार्यदल नै गिरोहको योजनामा वनेको पाईएको छ।

कार्यदलमा शाखा अधिकृत दिपकप्रसाद न्यौपोनलाई सदस्य सचिवका रुपमा राखिएको थियो भने विज्ञ सदस्यको रुपमा नियुक्त भएका पूर्वशिक्षक गणेशबहादुर केसी गिरोहका नाईके सानु भण्डारी मार्फत आएका ब्यक्ति भएको पाईएको छ। भण्डारीले उनलाई मन्त्रालयमा लगेर तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसँग भेट गराएपछि उनी समितिमा सदस्य बनेको स्रोतले जनाएको छ।

भण्डारीले नै आफूलाई सिंहदरबार लगेर राईसँग भेट गराएपछि आफू कार्यदलको सदस्य बनेको केसीले समेत बताएका छन्। विज्ञ वन्नका लागि उनले पार्टी समेत परिवर्तन गरेको पाईएको छ। ०४६ सालदेखि नै नेपाली कांग्रेसमा आबद्ध केसी ०७४ सालमा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

यो पनि,

भुटानी शरणार्थी टेकनारायण पाण्डे

विशेष