News अपराध सुरक्षा

सचिवको बयानले तानिए पूर्वमन्त्री खाँण, गिरोहसँगै पटक पटक गएका थिए झापा

४ करोड ७५ लाख रुपैयाँ लिएको खुलेपछि देउवासँग गुहार

सचिवको बयानले तानिए पूर्वमन्त्री खाँण, गिरोहसँगै पटक पटक गएका थिए झापा

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अनुशन्धानमा तानेका छन्।

सर्वोच्च अदालतको परमादेशले केपी शर्मा ओली सरकारबाट अपधस्त भएपछि वनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा ०७८ असार २९ गते खाँण गृहमन्त्री वनेका थिए। खाँडले नै भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा रहेका सचिव पाण्डेलाई गृहमा ल्याएका हुन।

गृह मन्त्रालय हुँदै पछिल्लो पटक उपराष्ट्रपति कार्यालय पुगेका सचिव पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका नाइकेहरू केशव दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङ पक्राउ परिसकेका छन्।

प्रहरी हिरासतमा रहेका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका छन । सचिव पाण्डेले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा आफूले नेतृत्वसँगको समन्वयमा काम गरेको बताएका छन् । 

यतिमात्रै होईन, तत्कालिन गृहमन्त्री खाँड पत्नि एवम् प्रतिनिधि सभा सदस्य मञ्जु खाँड पनि यही लहरोमा तानिने सम्भावना देखिएको छ।  प्रहरीले चैत १३ गते सानु भण्डारीसँग लिएको वयानका क्रममा पनि खाँण दम्पत्तिको नाम पोलिएको छ।

भण्डारीले बालकृष्ण खाँणलाई ४ करोड ७५ लाख रुपैयाँ दिएको बयान दिएको स्रोतको दावी छ। खाँडले महेश्वर न्यौपानेलाई हटाएर पाण्डेलाई सचिवमा ल्याईएपछि गिरोहका नाइकेहरु कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव दुलाल र भण्डारी मन्त्रालयमा पुगेका थिए। उनीहरुले यसअघिका मन्त्री र सचिवले पैसा लिएर काम नगरेको भन्दै गुनासो गरेपछि पाण्डेले नै उनीहरुलाई मन्त्रीसँग भेट गराएको खुलेको छ।

त्यसपछि यो कुरा खाँड पत्नि मञ्जु, आरजु राणा र शेरबहादुर देउवासम्म पनि पुगेको थियो। यसबीचमा गृह सचिव पाण्डेले गृहमन्त्री खाँणसँगको सल्लाहमा भुटानी शरणार्थीको ‘थर्ड कन्ट्री सेटलमेन्ट’ सम्बन्धी परिपत्र पनि जारी गरेको पाईएको छ। गृहमन्त्रीबाट स्वीकृत गराएरै सचिवले त्यो परिपत्र गरेको दावी प्रहरीको पनि छ।

डेढ वर्ष गृहमन्त्री भएका खाँण यही प्रकरणमा पटकपटक झापा पुगेको पनि खुलेको छ। तत्कालिन सिडिओ तथा अन्य कतिपय कर्मचारीहरु समेतले शरणार्थी समस्याको कुरामा मात्र होइन, दुलाल–भण्डारीको टोलीमा पनि खाँड पटक पटक झापा पुगेको सूचना प्रहरी समक्ष चुहाएका छन्। 

यता, आफनो समेत नाम जोडिएपछि पूर्वमन्त्री खाँण बिहीबार कांग्रेस सभापति देउवालाई भेट्न धुम्बाराही गएको तथा देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल र आईजिपीसँग कुरा गरेको पनि स्रोतको दावी छ।

खाँडको नाम जोडिएपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कानूनले आफ्नो काम गरिरहेका बेला राजनीति चुप बस्नुपर्ने प्रतिक्रिया जनाएका छन्। शुक्रबार साँझ सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै महामन्त्री शर्माले छानबिनलाई सघाउने कर्तव्य सबैको रहेको बताए । उनले भने, ‘को भन्नेतिर नजाउँ, अनुसन्धानको क्रममा जाँदै गर्दा कसको भन्ने भएन, खोजबिनमा सहयोग हुन्छ । कानूनले काम गरिरहेका बेला राजनीति बोल्न हुन्न ।’

अर्का महामन्त्री गगन थापाले पनि यो घट्नामा कोही छुट्न नहुने र कोही दोहोरिन नहुने भन्दै आफनो धारणा सार्वजनिक गरिसकेका छन्। उनले फेसवुकमै लेखेर भनेका छन्–‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो। अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन। संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन।’

महामन्त्री थापाले यो प्रतिक्रिया जनाउँदा खाँडको विषय भने खुलिसकेको थिएन।

यो पनि,

भुटानी शरणार्थी बालकृष्ण खाँण

विशेष