News

तेस्रो पटक मन्त्री बन्दै दीपक मनाङे, माओवादी र कांग्रेसको हनाथापले सरकार विस्तारमा ढिलाई

तेस्रो पटक मन्त्री बन्दै दीपक मनाङे, माओवादी र कांग्रेसको हनाथापले सरकार विस्तारमा ढिलाई

गण्डकी प्रदेशका सांसद दीपक मनाङे फेरी मन्त्री बन्ने भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार प्रदेशसभाबाट विश्वासको मत पाएपछि सरकार विस्तारको तयारी सुरु गर्दा मनाङे मन्त्री बन्न लागेको बताईन्छ।

एकीकृत समाजवादीका एक्ला सांसद मनाङेले आफू मन्त्री भए पुरानै मन्त्रालय समाल्ने बताएका छन् । ‘हामीलाई धेरै ठुलो मन्त्रालय चाहिँदैन । पुरानै मन्त्रालय भए पुग्छ,’ उनले भने । मनाङेले यसअघि पृथ्वी सुब्बा गुरुङ र कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए ।

खगराज अधिकारी नेतृत्वको सरकारले मन्त्रालय संख्या १२ बाट ७ मा झारेपछि यो मन्त्रालय सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा गाभिएको छ । पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीकाबाट एक गरी ३५ सांसदको विश्वासको मत दिएका थिए । सरकार गठन भएको छोटो समयमै विश्वासको मत लिएका मुख्यमन्त्री पाण्डेले अहिलेसम्म मन्त्रालय हाँक्ने सारथि टुङ्ग्याउन सकेका छैनन् । 

मन्त्रालय विस्तार गर्न नसक्नुमा सत्ता गठबन्धनमा भागबण्डा नमिल्नु नै मुख्य कारण देखिएको छ । माओवादी केन्द्रले तीन मन्त्रालय दिनुपर्ने र एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनुपर्ने भएपछि मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । 

मुख्यमन्त्री पाण्डेका अनुसार एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउन छलफल भइरहेको छ । स्रोतका अनुसार माओवादी केन्द्रले भौतिक पूर्वाधार, उद्योग पर्यटन वन तथा वातावरण र कृषि, ऊर्जा तथा खानेपानी मन्त्रालय दाबी गरेको छ। माओवादीले तीन मन्त्रालय पाए अब रेशमबहादुर जुग्जाली, फणीन्द्र देवकोटा सरकारमा पठाउने तयारी गरेको छ । 

माओवादी संसदीय दलका नेता हरिबहादुर चमानले पनि आफूहरूले ३ वटा मन्त्रालय दाबी गरिरहेको बताए । 

कांग्रेसमा मन्त्री बन्नेको लर्को छ। लमजुङका डा. टकराज गुरुङ, नवलपुरका महेन्द्रध्वज जिसी, कास्कीका विन्दुकुमार थापा, कास्कीकै प्रकाश बराल, बागलुङका जीत शेरचन, कास्कीकी सरस्वती गुरुङ, पर्वतकी रेखा गुरुङ र बागलुङका डिल्लीराम सुवेदी मन्त्री बन्न लबिङमा छन् । 
 

विशेष