News

शरणार्थी प्रकरणमा पक्राउ परेका २ जनालाई खाँडले नै छुटाएको खुलासा

६ करोड लिएको अडियोपछि खाँड विरुद्ध प्रमाण खोज्दै प्रहरी

शरणार्थी प्रकरणमा पक्राउ परेका २ जनालाई खाँडले नै छुटाएको खुलासा

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दाङका सन्देश शर्मा पोखरेलले ६ करोड रुपैयाँ दिएको बयान दिएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँड विरुद्ध प्रहरीले प्रमाण खोज्न थालेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट नेता खाँणविरुद्ध प्रमाण जुटाउने प्रयास भईरहेको प्रहरी स्रोतको भनाई छ। शर्माको वयान वाहेक सो पक्ररणका पीडितहरूसँगको कुराकानीमा समेत खाँणकी श्रीमती मञ्जु खाँणलाई घरमै पुगेर रकम बुझाएको भनिएको अडियो रेकर्डसमेत बाहिरिएको छ ।

यसअघि यो प्रकरणमा सन्देश शर्मा पक्राउ परे पनि उनकै निर्देशनमा छुटेको खुलेको छ । पूर्व एआईजी विज्ञानराज शर्माले पनि ट्वीटर मार्फत उक्त प्रकरणमा खाँडको संलग्नता रहेको संकेत गरेका छन्। उनले खाण गृहमन्त्री हुँदा भुटानी शरणार्थी प्रकरणमा उजुरी परेको र दुईजना मान्छे पक्राउ पनि गरिएको बताउँदै मन्त्री खाणकै दवाबमा उनीहरु छुटेको जनाएका छन्।

त्यसले समेत खाँणमाथि थप आशंका उब्जिएको छ । गृहमन्त्री खाँण हुँदाका गृहसचिव टेकनारायण पाण्डे पक्राउ परेपछि उनले पनि ‘माथिकै निर्देशन’अनुसार काम गरेको बयान प्रहरीलाई दिएका छन् । भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाण जोडिने अर्को दस्तावेज समेत भेटिएको छ। ०७८ असारमा गृहमन्त्री भएका खाणकै जोडबलमा गृह प्रशासनबारे ज्ञान नै नभएका टेकनारायण पाण्डेलाई गृहसचिवको जिम्मेवारी दिइएको थियो।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापा (बादल)का पालामा ०७६ जेठमा भुटानी शरणार्थी समस्या समाधान गर्ने भन्दै गृह मन्त्रालयकै तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। कार्यदलले समेत नक्कली भुटानी शरणार्थीको नाम राखेको भन्दै उक्त प्रतिवेदन कार्यान्वयनमा आएको थिएन। 

खाण गृहमन्त्री र टेकनारायण गृहसचिव भएपछि उनीहरुको अग्रसरतामा पुनः अर्को समिति गठन गरियो। जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन सहायक सीडीओ एको थियो संयोजक रहेको समितिलाई ०७९ भदौ मसान्तसम्म भुटानी शरणार्थीका बारेमा थप कार्यसम्पादन गरी पेस गर्न भनिएको थियो। 

आवश्यक परे उक्त समितिले उपसमिति गठन गर्न सक्ने र पन्थी नेतृत्वको समितिले पेस गरेका प्रतिवेदन समेत अध्ययन गरी छुट भुटानी शरणार्थीको नाम समावेश गर्न समेत भनिएको थियो। तर, भुटानी शरणार्थी प्रकरण विवादमा परिसकेकाले आफूहरु थप विवादमा नफस्ने भन्ने उक्त समितिले काम गरेन। 

काम अगाडि नबढेपछि नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने योजना असफल हुन थालेको थियो। अमेरिका जान भनेर रकम बुझाएकाहरुले ‘हाम्रो काम कहिले बन्छ?’ भन्दै पैसा लिने बिचौलियालाई दबाब दिन थाले। बिचौलियाहरु फोन अफ गरेर सम्पर्कविहीन भएपछि पैसा बुझाएकाहरु प्रहरीकहाँ पुगेका थिए। 

खाणले आफ्नै पालामा पुनः अर्को समिति गठन गरेर छुट शरणार्थीहरुको नाम समावेश गर्न लगाउनु पनि रहस्यमय रहेको भन्दै अहिले अनुसन्धान अघि बढाइएको छ। 

पक्राउ परेका आरोपीले भटाभट हाई प्रोफाइल व्यक्तिको संलग्नताबारे बयान दिन थालेपछि पूर्वगृहसचिव र मन्त्रीसम्मको लहरो तानिएको हो । भुटानी प्रकरणमा जोडिएको खुलेपछि हाल एमाले सचिव टोपबहादुर रायमाझी फरार सूचीमा छन् ।

हाल सचिवदेखि मन्त्रीसम्मै सो प्रकरणमा मुछिएपछि गृहमन्त्रालयले भुटानी शरणार्थी समस्या समाधान गर्न बनाएको कार्यदलमाथि नै शंका उब्जिएको छ । काठमाडौं प्रहरी स्रोतका अनुसार कार्यदलको भूमिकामाथि नै आशंका हुन थालेपछि प्रहरीले कार्यदलका सदस्यमाथि समेत अनुसन्धान थालेको छ। 

बालकृष्ण खाँड भुटानी शरणार्थी

विशेष