News

प्रचण्डसँग ओलीको गुनासोः ममाथि आक्रमण हुँदा एक पटक पनि सोध्नु भएन

प्रचण्डसँग ओलीको गुनासोः ममाथि आक्रमण हुँदा एक पटक पनि सोध्नु भएन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहालले आफु माथि आक्रमण हुँदा एक वचन पनि नसोधेको गुनासो गरेका छन्।

सोमबार राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले पूर्वी नेपालमा आफूमाथि भएको ढुंगामुढा र नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्री गुनासो र आलोचना गरे।

‘मलाई पूर्वमा ढुंगामुढा भयो। प्रचण्डजीले फोन गर्नुभयो। आफ्नै स्वार्थका कुरा गर्नुभयो तर तपाईंमाथि आक्रमण भएछ है भनेर सहानुभूति पनि देखाउनु भए’ उनले भने–‘त्यसबारे एक शब्द पनि बोल्नुभएन। शेरबहादुरजीले पनि फोन गर्नुभयो। उहाँले बरू तपाईंमाथि त्यस्तो भएछ है। त्यस्तो नहुनु पर्ने। सरकारले यस्ता कुरामा ध्यान दिनुपर्छ भन्नुभयो।’

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री प्रचण्डले हिरोइजम देखाएको र स्टन्टबाजी गर्न खोजेको ओलीले आरोप लगाए। प्रधानमन्त्री आफैले भेट्न वोलाएर आफु हिडेपछि ‘कसैको दवाव स्विकार्दिन’ भन्दै एमालेलाई वदनाम गर्न खोजेको बताए। 

‘अस्ति मलाई उहाँले भेट्न बोलाउनुभयो। भेटेपछि मिडियामा आएर भन्नुभयो– प्रधानमन्त्रीलाई भ्रष्टाचारीलाई छुटाउनु पर्छ भनेर कसले दबाब दिन सक्छ। मानौं कि मैले उहाँलाई दबाब दिएको थिएँ जसरी,’ ओलीले भने,‘त्यसपछि पार्टी कार्यालयमा जाँदा उहाँलाई कार्यकर्ताले दुबोको माला लगाइदिए। बेहुलोजस्तो बनेर उहाँले भन्नुभयो– यो त ट्रेलरमात्र हो, फिलिम देखाउन बाँकी छ।’

ओलीले प्रधानमन्त्री दाहाललाई फिलिम देखाउन पनि चुनौती दिए।

एमालेले भ्रष्टाचारीलाई ढाकछोप नगर्ने तर निर्दोषलाई फसाउने र एमालेविरूद्ध षडयन्त्र भए त्यसको मुकाबिला गर्ने ओलीले वताए। 

विशेष