News

साढे २ करोडको अडियोपछि आरजुले प्रयोग गरिन ‘भिक्टिम कार्ड’

महिलाले आफनो हैसियतमा राजनीति गरेको सह्य भएन

साढे २ करोडको अडियोपछि आरजुले प्रयोग गरिन ‘भिक्टिम कार्ड’

नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको राजनीतिक वृत्तमा सुनामी आएझै भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवं सांसद आरजु राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाण पत्नी मन्जुलाई करोडौं रकम बुझाएको दाबी गरिएको अडिओ सार्वजनिक भएसँगै राजनीतिमा तरंग उत्पन्न भएको हो।

अडियो सार्वजनिक हुनु अघि यो प्रकरणमा प्राय एमाले सम्वन्धित नेता तथा कर्मचारी संलग्न भएको पाईएको थियो। त्यसैले कांग्रेसका नेताहरु सवैलाई कारवाही गर्नुपर्छ भन्दै प्रतिक्रिया दिदै थिए। तर, आइतबार उक्त अडियो सार्वजनिक भएपछि भने कांग्रेस वृत्तमा पनि सन्नाटा छाएको छ। कांग्रेस नेताहरु बोलेका छैनन्।

उक्त अडियो अनुसन्धानरत नेपाल प्रहरीको टोलीसँग पुगिसकेको स्रोतले दाबी गरेको छ। सार्वजनिक अडिओमा आरजुलाई साढे २ करोड र मन्जुलाई ६ करोड रकम बुझाएको दाबी गरिएको सुनिन्छ। अडिओमा रकम दिएको दाबी गर्ने व्यक्ति गिरोहको सदस्य रहेको स्रोतको दाबी छ।

यस्तो दाबी गर्ने अहिले प्रहरी हिरासतमा रहेको बताइएको छ। सार्वजनिक अडिओ १ मिनेट ३ सेकेन्डको छ। मन्जुलाई वुझाएको पैसा बालकृष्ण खाणलाई बुझाएको हो। ‘मन्जुदेवीले बुझ्नुभएको हो घरमा। हनुमानथानमा घर छ, त्यहीं बुझ्नुभएको हो।’ अडिओमा भनिएको छ। आफूलाई दुहुनो गाई बनाएको भनेर गुनासो पनि गरिएको छ।

प्रहरी अनुसन्धानले पनि उक्त अडिओको आधिकारिकता र रकम बुझे–नबुझेकोबारे अनुसन्धान गरिरहेको स्रोत बताउँछ। प्रहरीकहाँ ३० मिनेटको अडिओ पुर्याइएको स्रोतको दाबी छ।

यता, अडियो सार्वजनिक भएपछि देउवा पत्नि आरजुले संसदमै ‘भिक्टिम कार्ड’ प्रयोग गरेर आफु निर्दोश रहेको प्रमाणित गर्ने प्रयास गरेकी छिन्। आईतवार संसदमा वोल्दै उनले आफ्नो नाम जोडिएर विभिन्न प्रश्नहरू उठेकोमा आपत्ति जनाउँदै आफूले कुनै गल्ती नगरेको बताईन। उनले आफूले केही नबिराएको पनि दाबी गरेकी छन् ।

उनले एउटा नारीले आफनो हैसियतमा राजनीति गरेका सह्य नभएको भन्दै गुनासो गरिन। ‘एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सहृय हुँदैन रहेछ । अझै पनि नारीले पुरुषले भनेको ठाउँमा मात्रै बस्नुपर्ने, उनीहरुले भनेको मात्रै बोल्नुपर्ने, अलिकति पब्लिक लाइफमा आयो भने पुरुषहरुलाई असहृय हुने परिस्थिति बनेको छ,’ उनले अघि भनिन्, ‘यस्तो नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा समेत छ । हामीले संविधानमार्फत् यो कुराको विरुद्धमा लेखेका छौँ । त्यसकारण मैले केही बिराएको छैन, म डराउँदिन ।’

उनले तथ्यभन्दा बाहिर गएर जथाभावी नबोल्न र भाषण नगर्न आग्रह गरिन् । उनले सम्पुर्ण सांसदको सम्पत्ति विरण जाँच गर्न पनि चुनौती दिईन। तर, आफनो सपत्ति जाँच गर्न भने उनले भनिन्। वरु आफनो र श्रीमानको पटक–पटक बुझाएको भन्दै अल्मल्याउने प्रयास गरिन। ‘मेरो श्रीमान् पाँच–छ पटक प्रधानमन्त्री हुनुभयो, मेरो लगायत मेरो श्रीमानको सम्पत्ति विवरण सरकारसँग सुरक्षित छ’ उनले भनिन्–‘म अनुरोध गर्न चाहान्छु, हामी जत्ति जना सांसद छौँ, सबैको सम्पत्ति विवरण वेभसाइटमा राखियोस्, सार्वजनिक गरियोस्।’

‘हामी कहिले कुन अवस्थामा थियौँ, कसको कति सम्पत्ति थियो ? कसको बढ्यो ? कसको घट्यो ? के श्रोत हो ? सबैको सम्पत्तिको छानविन होस् ।’– उनले भनिन्।

भुटानी शरणार्थी आरजु देउवा भिक्टिम कार्ड

विशेष