News

गगन थापाको अवको रणनीतिः विद्रोह की विभाजन ?

गगन थापाको अवको रणनीतिः विद्रोह की विभाजन ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आइतबार एउटा ट्वीट गरे। यो ट्वीटले धेरैजनालाई अचम्ममा पारेको छ । पार्टीभित्र जे जति विवाद भएपनि सार्वजनिक तहमा निकै अड्कलेर बोल्ने थापाले आइतबार निकै दिक्दारीपूर्ण ट्वीट गरेपछि अब उनले के गर्ने हुन् भन्ने चासो बढेको छ ।

गगन थापाले लेखेका थिए, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’

कतिले त गगनले अब नयाँ पार्टी खोल्छन भन्न समेत भ्याइसके भने कतिपयले गगन अव कांग्रेस फुटाएर आफनै योजनामा खोलिएको रास्वपामा जान सक्छन् भन्न थालेका छन्। गगन थापाको निकट स्रोतका अनुसार उनले पछिल्लो समय पार्टीका हरेक बैठकमा पार्टीभित्रको अवस्था सुधारको लागि कुरा उठाउने गरेका छन् । तर सभापति शेरबहादुर देउवाले थापाकै कुरा सुन्नै मान्दैनन् । बरु ‘के के गर्ने हो आफै गरे भैहाल्यो नी’ भनेर जवाफ दिने गरेका छन् ।

पार्टीले गर्ने हरेक निर्णयदेखि सरकारमा मन्त्री पठाउँदा समेत देउवाले आफ्ना मान्छेमात्रै च्याप्ने र पार्टीको हीत तथा भविष्य ख्याल नगरेको गगन थापाको आरोप छ । यस्तैमा हुन गएको मन्त्रिपरिषद विस्तारले पनि थापालाई यो अवस्थामा पुर्याएको वुझाई छ। नवौं र दसौंपल्ट विस्तारित मन्त्रिपरिषद्मा पनि थापा र अर्का महामन्त्री शर्माको चाहना प्रकट हुन पाएन । देउवाले कि त आफ्ना, कि त शेखर कोइराला पक्षका मान्छेहरुलाई नै बढ्ता महत्व दिँदा आफू छायाँ परेको महामन्त्री थापाले अनुभूत गरेका छन् ।

थापा पार्टीभित्र र बाहिर शृंखलाबद्ध प्रहारको शिकार हुनुपरेको उनी निकट नेताहरु बताउँछन्। जीवन परियार, प्रदीप पौडेल र बद्री पाण्डेभित्रबाट मन्त्री बनाउनुपर्ने कुरा थापा पक्षले गरेपनि देउवाले कुरै सुन्न मानेनन्। शेखर कोईराला पनि दुई मन्त्रीको नाम दिएर सिंगापुर उडे र गगनको फोन समेत उठाएनन्।

पछिल्लो समय देउवाले शेखरलाई प्रयोग गरिरहेको, त्यसैका आधारमा पार्टीभित्र एकलौटी मच्चाइरहेको थापाको बुझाइ छ । शंका कतिसम्म बढ्दै गएको छ भने मंसिरको चुनावमा प्रत्यक्षतर्फ टिकट वितरण गर्नेदेखि आगामी पार्टी महाधिवेशनमा शेखरलाई आफ्नो समूहको तर्फबाट सभापतिको टिकट दिनेसम्मका आश्वासन देउवाले दिएपछि शेखर मत्थर बन्दै गएको थापाको बुझाइ छ ।

त्यसैले आगामी रणनीतिबारे थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मसिनो गरी छलफल गरिसकेको उनका निकट सहयोगीले बताए । कांग्रेस नेतृत्वप्रति मानिसहरुमा बढ्दो विकर्षण, नागरिकहरुले नरुचाएको कांग्रेस–माओवादी गठबन्धन लगायत विषयमा कार्यकर्ता पंक्तिमा के सन्देश लगेर जाने भन्नेमा उनीहरुको नियमित छलफल भइरहेको छ ।

निकटस्थका अनुसार गगन थापाले पार्टी छाड्ने नभई पार्टीभित्र नयाँ ध्रुविकरण गर्ने र केन्द्रदेखि गाउँसम्म सभापतिको एकलौटीविरुद्ध अभियान चलाउने योजना बनाएका छन् ।

गगन थापाले पार्टीभित्र असन्तुष्ट बनेका अरु खेमाका नेताहरुलाई पनि आफैतिर तान्ने र देउवाविरुद्ध पार्टीभित्र बलियो धार निर्माण गर्ने योजना बनाएका छन् । यसको लागि उनी आन्तरिक छलफलमा समेत जुटिसकेको नजिकका नेताहरुले बताएका छन् । 

गगन थापा

विशेष