News अपराध सुरक्षा

भुटानी शरणार्थी प्रकरणमा गिरोहलाई प्रहरीबाट जोगाउँथे सचिव पाण्डे

११ महिनादेखि गिरोहसँग सम्पर्क, पाण्डेकै घरमा हुन्थ्यो मिटिङ 

भुटानी शरणार्थी प्रकरणमा गिरोहलाई प्रहरीबाट जोगाउँथे सचिव पाण्डे

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बैशाख २० गते उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेलाई पक्राउ गर्यो। पूर्व गृहसचिव समेत रहेका पाण्डेमाथि भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।

यसअघि पक्राउ परेका केशव दुलाल, टङ्क गुरुङ, सानु भण्डारी र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईको वयानका आधारमा उनी पक्राउ परेका हुन। 

केशव र सानुले सचिव पाण्डेलाई ५० लाख नगद बुझाएको बयान दिएपछि पक्राउ परेका पाण्डेले सुरुमा ‘पक्राउ परेकाहरू मेरो सम्पर्कका मानिस हैनन्, मैले पैसा लिने कुरै भएन’ भन्दै आरोप अस्विकार गरेका थिए।

तर, सचिव पाण्डे र मोरङ घर भएका केशव दुलालको बिचमा ११ महिनादेखि सम्पर्क रहेको र पाण्डेको घरमै घेटघाट हुने गरेको पाईएको छ। उनीहरुले ह्वाट्स एपमा भुटानीलाई अमेरिका पठाउने बारे लामो कुराकानी भएको भेटिएको छ । म्यासेज कुराकानीमा सचिव आफैँले कुराकानी सुरु गरेको पनि पाईएको छ। ‘के छ खबर ?’ भन्दै पाण्डेले म्यासेज गरेपछि ‘खबर केही नआएको, बुझिदिनुस’ भनेका छन्। पाण्डेले फेरी म्यासेजमा जवाफ फर्काउँदै ‘इन्द्रजितसँग कनट्याक्ट भयो रे ।’ भनेका छन्।

यस वाहेक कयौ ह्वाट्अप म्यासेज अनुसन्धान अधिकृतहरूले फेला परेका छन्। रामकुमार रेग्मी र दाङ घर भएका गजेन्द्र बुढाथोकीले ११ महिनाअघि उपत्यका अपराध अनुसन्धान कार्यालयमा ठगीबारे उजुरी गरेका थिए । उजुरी परेपछि सचिव पाण्डे मार्फत आरोपीहरूले डा. इन्द्रजितसँग सम्पर्क गरेको र पाण्डेको पहलकदमी अनुसार दुलाल, भण्डारी, सागर राई र टङ्क गुरुङ पक्राउ हुनबाट जोगिएको पाईएको छ।

पीडितहरू प्रहरीकहाँ धाउन थालेपछि सचिव पाण्डेले मुद्दा ‘सेटल’ गर्न भूमिका खेलेको प्रहरी स्रोतले जनाएको छ। कतिपय अवस्थामा दुलालले पाण्डेलाई उनकै घरमा भेट्ने गरेको प्रहरीको दावी छ। यो कुरा उनीहरुको ह्वाट्सअप च्याटबाट पनि पुष्टि भएको छ।

सचिव पाण्डेले गिरोहका सदस्यहरूलाई घरमै बोलाएर मिटिङ गर्ने गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत बताउँछन्। गिरोहका सदस्य मध्येका सागर राई २०७९ चैत १५ मा र मुख्य योजनाकार सन्देश शर्मा २९ चैतमा पक्राउ परेका थिए । सचिव पाण्डे वैशाख २० मा पक्राउ परेका हुन् ।

भुटानी शरणार्थी टेक नारायण पाण्डे

विशेष