News

आरजु निकटका कांग्रेसीद्वारा अमरेश सिंह विरुद्ध अख्तियारमा उजुरी

आरजु निकटका कांग्रेसीद्वारा अमरेश सिंह विरुद्ध अख्तियारमा उजुरी

स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध भ्रष्टाचारको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सर्लाहीका विकास कुमार ठाकुरले अमरेशविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्। 

अमरेश राजनीतिक जीवनमा राजनीतिबाहेक अन्य पेसा वा व्यवसायमा संलग्न नभएको हुँदा अकुत सम्पत्ति जम्मा गरेको विषयमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न ठाकुरले माग गरेका छन्। 

यस अगाडि नेपाली कांग्रेसबाट राजनीति गर्दै आइरहेका सिंह मंसिर ४ को निर्वाचनमा स्वतन्त्रबाट सर्लाही ४ बाट विजयी भएका थिए। पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्रबाट चुनाव लडेर जितेका हुन।

सिंह विरुद्ध उजुरी दर्ता गर्ने ठाकुर सर्लाही कांग्रेसको जिल्ला कार्यसमिति सदस्य हुन। ठाकुर कांग्रेस नेतृ आरजु राणा देउवा निकट मानिन्छन्। अमरेश ०६३ पछि मूलधारको राजनीतिमा देखिन थालेका हुन्। त्यसयता उनले ठूलो आर्थिक फड्को मारेको र निर्वाचनमा मतदाता पनि किनेको दाबी उजुरीमा गरिएको छ।

सर्लाहीबाट आर्थिक चलखेलले पटक–पटक निर्वाचित हुँदा पनि त्यस क्षेत्रको समृद्धिका लागि कुनै पहल नगरेको र आफू र आफ्ना नजिकका आफन्तलाई पोस्ने कार्य गरेको आरोप उनलाई लगाइएको छ।

सोमबार बसेको संसद बैठक सुरु हुनेबित्तिकै विरोधमा उत्रिएका अमरेशले बोल्न नपाएको भन्दै शरीरको माथिल्लो भागको सबै लुगा खोलेर विरोध गरेका थिए। 


 

विशेष