रोनाल्डोपछि मेस्सी पनि साउदी क्लबमा आवद्ध, कट्टर प्रतिद्वन्दी क्लवमा दुई स्टार

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोपछि अव अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी पनि साउदी अरेबियन क्लबबाट खेल्ने भएका छन् । मेस्सी र रोनाल्डोको क्लव भने फरक हुनेछ। उनीहरु दुवै साउदीका कट्टर प्रतिद्वन्दी क्लवमा आवद्ध भएका छन्।
फ्रेन्च सञ्चारमाध्यमका मेस्सीले साउदीको अल–हिलालबाट खेल्नका लागि सम्झौता गरेका छन्। उनी समरमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर साउदीको अल–हिलालमा आवद्ध हुने जनाईएको छ।
न्यूज एजेन्सी एएफपीले पनि साउदी श्रोतलाई उदृत गर्दै मेस्सीले अल–हिलालबाट खेल्नका लागि सम्झौता गरिसकेको जनाएको छ । मेस्सीले अल–हिलालसँग ५ सय २२ मिलियन पाउन्डमा सम्झौता गरेको समेत फ्रेन्च सञ्चारमाध्यमले जनाएको डेलिमेलले उल्लेख गरेको छ ।
केही दिनअघि साउदी अरबको अनाधिकृत यात्रा गरेको भन्दै मेस्सीलाई पीएसजीले दुई साताका लागि निलम्वन गरेको थियो। सो प्रकरणमा उनले माफी पनि मागेका थिए । लोरिएन्टसँग पीएसजीको घरेलु हार पछि मेस्सी साउदी पुगेका थिए । पछिल्ला छ खेलमा पीएसजीको यो तेस्रो हार थियो । मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र क्लबले के निर्णय गर्छ त्यो हेर्न म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक सोचेँ कि हामीले खेल पछिको दिन बिदा लिनेछौँ, जुन अघिल्लो हप्ताहरूमा भएको थियो। मैले साउदी अरबको योभन्दा अघिल्लो यात्रा रद्द गरेको थिएँ। यस पटक मैले रद्द गर्न सकिनँ।’
३५ वर्षीय मेस्सी साउदी अरबका लागि पर्यटन दूतको भूमिकामा पनि छन् । यो सिजनको अन्त्यमा सम्झौता सकिएपछि मेस्सी पीएसजी छाड्ने तयारीमा छन् । यता पीएसजीका म्यानेजर क्रिस्टोफ गाल्टियरले मेस्सीको निलम्बनसँग आफ्नो ‘केही सरोकार नभएको’ बताएका छन्।