News

टोपबहादुर लखनउ पुगेको आशंका, घरमा प्रहरीको छापा

टोपबहादुर लखनउ पुगेको आशंका, घरमा प्रहरीको छापा

प्रहरीले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको ललितपुरको सातडोबाटो स्थित घरमा खानतलासी गरेको छ। नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि फारर भएकारायमाझीको घरमा जिल्ला प्रहरी परिसर काठमाडौंले खानतलासी गरेको हो।

टोपबहादुरविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। अदालतबाट पक्राउ पुर्जी जारी भइसकेपछि अर्घाखाँचीमा कानुनलाई सघाउँछु भन्दै हिँडेका उनी अहिलेसम्म सम्पर्कमा छैनन्।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म फेला पर्न नसकेपछि प्रहरीले खोजी गर्ने क्रममा रायमाझीको निवासमा खानतलासी गरेको हो । परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रायमाझीको निवासमा खानतलासी लिइएको बताए ।  निवासमा खानतलासी गरिएपनि रायमाझी भने फेला परेनन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवासम्म आइपुगेका उनी त्यहाँबाट भने सम्पर्कविहीन बनेका थिए ।

उनी अहिले भागेर भारतको लखनउ पुगेको प्रहरीले आशंका गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी अहिले उनको खोजीमा तीव्र रुपमा लागेको छ । तर, उनी कहाँ छन् भन्ने यकिन लोकेसन पत्ता लगाउन सकेको छैन । गृह स्रोत भने उनी भारतको लखनउ पुगेको हुनसक्ने आशंका रहेको बताउँछ । 

उनलाई पक्राउ गर्नका लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको गृह स्रोतले बताएको छ । त्यति मात्र नभई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पनि उनलाई पक्राउ गर्न निर्देशन दिइएको छ । 

रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० मा वारेन्ट जारी भएको थियो ।  जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट दुबैजनाविरद्ध पक्राउ पुर्जी लिएको थियो ।

वारेन्ट जारी भएपछि उनका छोरा पक्राउ परेपनि रायमाझी ‘फरार’ रहँदै आएका छन् । बिचौलियाहरुले सन्दीपको नाममा चार वर्षअघि डेढ करोडको चेक काटेका थिए। दुवै जनामाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा  संलग्न रहेको आरोप छ ।  यसअघि पक्राउ परेकाहरुले ठगीमा रायमाझीलगायतका उच्च तहका नेता र कर्मचारीको संलग्नता रहेको भन्दै बयान दिएका थिए । 

सो प्रकरणमा हालसम्म ८ जना पक्राउ परिसकेका छन् भने कांग्रेसका केही नेता समेत मुछिएका छन् । 

टोपबहादुर गायब भएपछि एमालेलाई अन्य दलहरुले दबाब दिइरहेका छन्। एमालेमाथि रायमाझीलाई लुकाएको आरोप लागिरहेको छ। यसैबीच एमालेको सचिवालय बैठक अहिले च्यासलमा बसिरहेको छ। टोपबहादुर जोडिएको प्रकरणबारे पनि एमाले बैठकमा कुरा हुन सक्नेछ।
 

भुटानी शरणार्थी

विशेष