News

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ। मंगलबार थप दुई जना पक्राउ परेपछि पक्राउ पर्ने १० पुगेका हुन।

प्रहरीले मंगलवार काठमाडौंको टोखाका रामशरण केसी र मोरङको बेलबारीका गोविन्द चौधरीलाई पक्राउ गरेको हो। उनीहरु विचौलियाको रुपमा काम गर्ने ब्यक्ति भएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार दुवैजना शंखमुलबाट पक्राउ परेका हुन।

उनीहरुलाई काठमाडौं परिसरमा बुझाइएको छ। यससँगै भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा ८ जना पक्राउ परेका थिए। अझै ९ जना विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। तर उनीहरु फरार छन्। फरार हुनेमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसमेत छन्। 

यसअघि पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुरका छोरा सन्दीप, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ परेका थिए। 
 

विशेष