News

नक्कली भुटानी शरणार्थी प्रकरणमा कार्यदल नै मुछियो, वयान लिदै प्रहरी

ठगी प्रकरणमा यसरी तानिदैछन भीआईपी र गृहप्रशासन

नक्कली भुटानी शरणार्थी प्रकरणमा कार्यदल नै मुछियो, वयान लिदै प्रहरी

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको ‘शरणार्थीको समस्याबारे अध्ययन गर्न गठित कार्यदल’ नै मुछिएको छ। कार्यदलका सदस्यसँगै गृह प्रशासनका कर्मचारी पनि अनुसन्धानमा तानिएका छन्। 

कार्यदलको प्रतिवेदनमा नक्कली शरणार्थी बनाएर छिराईएको हुन सक्ने आशंकामा प्रहरीले कार्यदलका सदस्यहरुको बयान लिन थालेको छ। काठमाडौं प्रहरी परिसरले आईतवार नै कार्यदलका संयोजक बालकृष्ण पन्थीको बयान लिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको पालामा गठन भएको कार्यदलका सदस्यको भूमिका बिना नक्कली भुटानी शरणार्थीको नाम समेट्न असम्भव रहेको निष्कर्ष निकाल्दै प्रहरीले कार्यदलमाथि नै अनुसन्धान अघि बढाएको हो। 

पन्थी नेतृत्वकै कार्यदलले नक्कली भुटानी शरणार्थीको नाम राखेको पछि अनसूची थपेर थप नक्कली भुटानी शरणार्थीको नाम समेट्ने क्रममा समेत उनीहरुको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा ०७६ जेठमा एउटा कार्यदल बनेको थियो। जसमा गृह मन्त्रालयका पूर्वसहसचिव पन्थी संयोजक, गणेश केसी विज्ञ सदस्य र तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य सचिवको थिए।

पछि सोही कार्यदलले मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा राखेको खुलेको थियो। अमेरिका लैजाने र त्यसबापत मोटो रकम असुल्ने उद्देश्यसहित ४२९ जनालाई भुटानी शरणार्थीको सूचीमा समेटिएको पाइएपछि उनीहरु अनुस्न्धानको दायरामा तानिएका हुन्।

नेपाली नागरिकलाई नै भुटानी शरणार्थीको सूचीमा राखिएको विषय सार्वजनिक भएपछि उक्त प्रतिवेदन गुपचुप पारियो। तर, सोही प्रतिवेदन गिरोहको हातमा पुग्यो। गिरोहले त्यही प्रतिवेदनमा ४४६ जना नेपाली नागरिकको नाम समेट्दै करिब १ अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ।

कार्यदल बन्दा गृहमन्त्री रामबहादुर थापा बादल थिए। तर हालसम्म उनको नाम जोडिएको छैन। तत्कालिन गृहसचिव (हालका अख्तियार प्रमुख प्रेमकुमार राई) पनि ठगीमा संलग्न रहेको पक्राउ परेका बिचौलियाले बयान दिएका छन्। उनी विरुद्ध अख्तियारमै पनि उजुरी परेको जनाईएको छ। 

केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङलगायतका विचौलियाले बादलकासुरक्षा सल्लाहकार इन्द्रजित राई र छोरा प्रतीकको नाम बयानमा लिएका छन्। संलग्नता खुलेपछि इन्द्रजित पक्राउ परिसकेका छन्। प्रतीक र लेनदेनमा मुछिएका सुरक्षा सल्लाहकार राईका छोरा निरज फरार छन्। 

पक्राउ परेका विचौलियाले पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाकी पत्नि  एवम् सांसद आरजु राणा देउवा, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, उनकी पत्नि एवम् सांसद मन्जु खाँड, नेकपा माओवादी केन्द्रका पूर्व नेता एवम पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश पुनसमेतको नाम लिएका छन्। सामाजिक संजालमा सार्वजनिक भएको अडियोमा समेत आरजु र मन्जुको नाम जोडिएको छ। आरजुले साढे २ करोड र मन्जुले आफनै घरमा ६ करोड वुझेको आरोप छ।

भुटानी शरणार्थी

विशेष