News

‘शरणार्थी प्रकरणमा जोडिएका सांसद संसदमै बोलिरहेका छन्, किन पक्राउ नगरेको ?’

‘शरणार्थी प्रकरणमा जोडिएका सांसद संसदमै बोलिरहेका छन्, किन पक्राउ नगरेको ?’

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सांसदहरु सदनमा बोलिरहेको भन्दै एक जना सांसदले उनीहरुलाई किन पक्राउ नगेको भन्दै प्रश्न गरेका छन्।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै पक्राउ पूर्जी जारी गरिएका, सो प्रकरणमा आशंका गरिएकाहरुमाथि छिटोभन्दा छिटो छानबिन गरी कारबाही गर्न माग गरे। 

यो प्रकरण जघन्य अपराध, देशद्रोही काम भएकाले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने उनको भनाई छ। ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौं असुल गर्ने, भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो’ उनले भने–‘यो भ्रष्टाचारजन्य जघन्य अपराध मात्रै नभएर यो राष्ट्रघात हो। देशद्रोही काम हो। त्यसकारणले यस्तो काममा संलग्न मानिसहरुलाई छिटो भन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनु पर्दछ। कारबाही गरिनु पर्दछ।’

‘हामीले सुनिरहेका छौं कि विभिन्न समाचार माध्यमहरुमा केही व्यक्तिहरु पक्राउ परेका छन्। केही सांसदहरुलाई वारेन्ट गरिएको छ। भागी राख्नु भएको छ। केही सांसद जो नोटिसमा हुनुहुन्छ। उहाँ सदनमै हुनुहुन्छ। सदनमा बोलिराख्नु भएको छ। यो के भएको हो?’ उनले थपे–‘म यो सदनमार्फत, सभामुखमार्फत सरकारलाई यो विषयमा जाँचबुझ के भइरहेको छ? छानबिन के भइरहेको छ? यसमा संलग्न को हुन? यसमा सरकारले के गरिरहेको छ?’
 

विशेष