आराजुलाई तोसिमाको प्रश्नः भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ?

नेपालीलाई भुटानी शरणार्थी बनाएको प्रकरणमा साढे २ करोड रुपैयाँ बुझेको आरोप लागेपपछि ‘महिलाले राजनीति गरेको देखि सहेनन्’ भन्दै भाषण ठोक्ने आरजु राणालाई सांसद तोसिमा कार्कीले जवाफ दिएकी छिन्।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. कार्कीले ठगी प्रकरणको अनुसन्धान माग गर्दा महिला हिंसा भएको राणाको गुनासोतर्फ संकेत गर्दै ‘भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ?’ भन्दै प्रश्न गरिन।
‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिलाद्रोही भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनुप¥यो, – भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ?’ डा. तोसिमाले प्रश्न गरिन् ।
रास्वपा सांसद तोसिमाले अगाडि भनिन्, ‘भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरिएर राष्ट्रघात भएको छ । अपराध भएको छ । कारबाही हुनुपर्छ ।’ नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठूला दलहरु लागेको आरोप पनि उनले लगाएकी छन् । नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्दासमेत जोगाउन खोजिएको उनले जिकिर गरिन् ।
सांसदहरुले संघीय संसद सचिवालयमा आफ्नो सम्पत्ति विवरण बुझाएको उल्लेख गर्दै उनले वेबसाइट मार्फत सार्वजनिक गर्न समेत माग गरेकी छन् । सम्पत्ति कर तिरे नतिरेको विवरण पनि सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिनिधिसभाकै बैठकमा नेपाली कांग्रेसकी सांसद आरजु राणाले पनि सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न चुनौती दिएकी थिइन् । आफूमाथि समेत प्रश्न उठेको भन्दै उनले आफूले गल्ती नगरेको र नडराउने बताएकी थिइन् ।