कोलम्वियाको जंगलमा विमान दुर्घटनामा परेका ४ बालबालिकाको ५ हप्तापछि उद्वार
कोलम्बियामा इन्जिन फेल भएर दुर्घटनाग्रस्त भएको विमानमा रहेका ४ जना बालवालिका ५ हप्तापछि जिवितै फेला परेका छन्। कोलम्बियाको जंगलबाट उनीहरुलाई त्यहाँको सेनाले शुक्रवार उद्वार गरेको हो।
कोलम्बियाली सेनाले सार्वजनिक गरेको तस्बिरमा सैनिकको समूहले घना जंगलको बीचमा ती बालबालिकालाई भेटेको देखिएको छ । उद्धारटोलीले कुकुरको सहायतमा बालबालिकालाई भेटेको हो ।
उद्धारका लागि कोलम्बियाले सेना र वायु सेनाले हेलिकप्टर र जहाजको समेत सहयोग लिएको थियो । समाचार संस्था रोयटर्सका अनुसार कोलम्बियाको दक्षिणी भेगमा मे १ मा विमान दुर्घटनामा परेको थियो।
सिंगल इन्जिनको सेसना–२०६ विमान अमाजोनस प्रान्तको अरारकुआराबाट ग्वावियारे प्रान्तको सान होजे डेल ग्वावियारे जाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाको समयमा विमानमा १३, ९, ४ र एक वर्षका यी चार दाजुबहिनी (तीन बालिका र एक बालकका), आमा र एक÷एक जना पाइलट र को–पाइलट थिए । विमानका पाइलटद्वय र बालबालिकाकी आमाको भने मृत्यु भएको थियो ।
चार जना बालबालिका भने विमान दुर्घटनाको करिब ४० दिनपछि जीवितै भेटिएको कोलम्वियाका राष्ट्रपति गुस्ताभो पेट्रोले जनाएका छन्। पेट्रोले हप्तौंको खोजीपछि बालबालिकालाई सकुशल भेट्नु पूरै मुलुकका लागि खुसीको क्षण भएको बताएका छन् ।
यसअघि राष्ट्रपति पेट्रोले मे १७ मै बालबालिका भेटिएको ट्विटरबाट जानकारी दिएका थिए । तर पछि उक्त पोस्ट डिलिट गरेका थिए । शुक्रबार भेटिएका उनीहरू कमजोर देखिन्छन् ।
विमान दुर्घटना